३१ भाद्र २०८१, सोमबार

भूकम्पबाट छियाछिया भएको जमिनमा नबस्न जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटकाे आग्रह

कर्णाली अपडेट

जाजरकोट । गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ।

वर्षायाममा पहिरोको उच्च जोखिम रहेका दर्जनौँ ठाउँ छाडेर सुरक्षितस्थलतर्फ बस्न जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटले स्थानीयलाई आग्रह गरेको हो।

सबैभन्दा बढी नलगाड नगरपालिकाका विभिन्न बस्ती बस्न योग्य नभएको भन्दै भूगर्भविद्ले सिफारिस गरेको आधारमा सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए। भेरी नगरपालिकाका अधिकांश स्थान बस्न योग्य नभएको भौगर्भिक अध्ययनले देखाएको उनले बताए।

भूकम्पमा सबैभन्दा बढी नलगाड–१ को चिउरी, पुवाडाँडा, नलगाड–२ को चैतेकाफल, रुमाली, अयाना, वडा नं ४ को औलभारी बस्ती जोखिममा परेका भौगर्भिक अध्ययनले जनाएको नलगाड नगरप्रमुख डम्बर रावतले बताए। उनका अनुसार भेरी–१ को मैदे, चौपानी, चौरलगायत ठाउँ बस्न जोखिमयुक्त छन्।

बारेकोट गाउँपालिका–६ को नाउली निमयारी, वडा नं ९ को लैखम, वडा नं ५ को तोलखाना, छेडागाड नगरपालिका–२ को डेटकुले, वडा नं ३ को दलितबस्ती, लिवालबस्ती, वडा नं १२ को साँगाचौर बस्ती, वडा नं १३ को बगाहा र शिवालय गाउँपालिका–२ को दुनगारा, वडा नं ३ को सीमा, वडा नं ६ को लुपपाखा, वडा नं ७ को भिउस बस्ती रहेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मंगलबार दर्जनौँ ठाउँमा बाढीपहिरोको जोखिम रहेको भन्दै जोखिमयुक्त ठाउँमा सजर्कता अपनाउन आग्रह गरिएको छ। भूकम्पबाट छियाछिया भएको जमिन बस्न सुरक्षित नभएकाले ती स्थानका स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको नगरप्रमुख रावतले बताए। ’पालिकामा फेरि विपद् आएमा राहत सामग्री छैन। यसअघिको भूकम्पमा खर्च भएको रकम अझै पालिकाले तिर्न सकेको छैन’, उनले भने।

भूगर्भविद्ले जोखिम भनि औँल्याएका ठाउँबारे पालिकालाई अझै जानकारी नदिएको बैठकमा सहभागी जनप्रतिनिधिले गुनासो गरेका छन्। छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले भूकम्पमा अस्थायी टहरा निर्माणका क्रममा संघीय र स्थानीय सरकारका फरकफरक निर्देशनका कारण काम गर्न समस्या भएको बताए। उनका अनुसार अस्थायी टहराको दोस्रो किस्ता अझै स्थानीयबासीले पाउन सकेका छैनन्।

२० असार २०८१, बुधबार १३:५० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्