३१ भाद्र २०८१, सोमबार

लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि योग

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटमा तनाव व्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ । भेरी नगरपालिकाले संचालन गरेको योग ध्यानका कार्यक्रम मार्फत लागु औषध दुर्व्यसनी नियन्त्रण तथा रोकथाम अभियान अन्तरगत उक्त कार्यशाला सम्पन्न भएको हो ।

जीवन विज्ञानका प्रशिक्षक होमनाथ आचार्यको सहजीकरणमा सम्पन्न २ दिने कार्यशालामा भेरी नगरपालिकाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, नगरपालिकाका कर्मचारी सहित एक सय ५० बढीको सहभागिता रहेको भेरी नगरपालिका विपद ब्यवस्थापन शाखाका प्रमुख यज्ञनाथ गौतमले जानकारी दिए ।

पछिल्लो समय समाजमा युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्दै गएपछि भेरी नगरपालिकाले विभिन्न चेतनामुलक कार्यक्रम मार्फत लागु औषध नियन्त्रण तथा रोकथाम अभियान संचालन गरिरहेको छ ।

भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध विशेष अभियान अन्र्तगत योग ध्यान समेत सञ्चालन गरिरहेको भेरी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले बताए । अहिलेका युवाहरुमा विभिन्न कारणले तनाव सिर्जना हुने र उक्त तनाव कम गर्ने बहानामा कुलतमा फस्ने, लागु पदार्थ दुब्र्यसनीमा फस्ने भएकोले जीवन विज्ञानका प्रशिक्षक मार्फत तनाव ब्यवस्थापन र खुसी विज्ञान सम्बन्धी कार्यशालाको आयोजना गरिएको उनको भनाई छ ।

भेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीपक वलीले कार्यक्रम निकै जीवन उपयोगी भएको बताए । स्वास्थ्यकर्मीले सिकेर आफ्नो ब्यवहारमा लागु गर्ने र विरामीलाई समेत आवश्यक परामर्श दिन सकिने उनको भनाई छ । योग, प्रणायाम र ध्यानलाई एक साथ अगाडी बढाउन सके कोही पनि मानिस कुलतमा फस्नु नपर्ने, तनावमा बस्नु नपर्ने र खुसी हुने प्रशिक्षक होमनाथ आचार्यले बताए ।

कार्यक्रम समापन कार्यक्रममा भेरी नगरपालिका ३ कि ज्ञानु शर्माले कार्यक्रम निकै प्रभावकारी भएको बताइन । भेरी नगरपालिकाले आयोजना गरेको तनाव ब्यवस्थापन तथा खुसी विज्ञान कार्यशाला निकै उपयोगी र प्रभावकारी रहेको भेरी नगरपालिका २ कि सावित्रा चन्दले बताईन । ‘हाम्रो मनमा धेरै कुराहरु खेलिरहेको हुन्छ, त्यो तनाव कम गर्न योगले धेरै काम गर्ने रहेछ, चन्दले भनिन् अव म घरमै भएपनि नियमित योग गर्छु ।’

नमुना युवा नगरसभा अभ्यास

युवाहरूलाई लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम सम्वन्धि कार्यक्रमलाई सहयोग पुर्याउन भेरी नगरपालिकाका ४० जना युवा युवतीहरूलाई नमूना युवा नगर सभा अभ्यास गराइएको छ । भेरी नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । युवाहरुका सकारात्मक सोचको विकास गर्न र सिर्जनशिलता ल्याउन उक्त कार्यक्रम गरिएको भेरी नगरपालिकाले जनाएको छ ।

लागु पदार्थको दुर्व्यसनमा फस्दै गएका युवा जमातलाई बचाई राख्न वर्तमान अवस्थामा नकारात्मक असरहरूका बारेमा जनचेतना फैलाउने, दुर्व्यसनकर्तालाई कुलतबाट छुटाउन, बचाई राख्न तथा लतमा पर्न सक्ने सम्भावना भएका व्यक्तिहरूबाट बचाउनका लागि भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध विशेष अभियान सञ्चालन गरिरहेको भेरी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले बताए ।

२० असार २०८१, बुधबार १५:३३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्