२ कार्तिक २०८१, शुक्रबार

ग्रामीण भेगमा सिंचाइ सुविधाको लागि साढे ९१ लाख बढीको नमुना आयोजना सम्पन्न गाउँभरी खुसीयाली, नगदेवालीबाट किसानको जीविकोपार्जनमा टेवा पुग्ने

कर्णाली अपडेट संवाददाता

सल्यान । दुई आर्थिक वर्षमा सम्पन्न भएको जलवायु अनुकुलन सम्बन्धी नमुना सिंचाई आयोजनाले सल्यान छत्रेश्वरी गाउँपालिका, ५ का किसानहरु हर्षित भएका छन् ।

वडा नं ५ स्थित काप्रेचौर जरेखोली सिंचाइ आयोजना सम्पन्न भएसंगै किसानहरुमा खुसी छाएको हो । करिव ८ हेक्टर जमिनमा सिंचाइ सुविधाको पहुँच पुग्नेगरी सम्पन्न आयोजनाले ६५ घरधुरीका किसानलाई प्रतयक्ष रुपमा लाभ प्रदान गरेको छ । छत्रेश्वरी गाउँपालिका र नेपाल जलवायु सहयोग कार्यक्रम, दोश्रो चरणको साझेदारीमा साढे ९१ लाख बढीको लागतमा काप्रेचौरमा सिंचाई आयोजना सम्पन्न भएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । सुन्तला लगाएतका फलफुल, तरकारी, अन्नवाली तथा स्थानीय कृषि उत्पादन बृद्धिका लागि महत्वपूर्ण टेवा पुर्याउने यस आयोजनाको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले आइतबार उद्घाटन गरे । उद्घाटन अवसरमा स्थानीय उपभोक्ताहरुले काप्रेचौरमा मौलिक कला संस्कृतीको प्रदर्शन संगै खुसीयाली मनाएका थिए ।

आफ्नो क्षेत्रमा सुन्तला, तरकारी खेतीको राम्रो सम्भावना रहेको भन्दै निर्माण उपभोक्ता समितिका अध्यक्ष निमा बुढाले यती ठूलो योजना सम्पन्न भएपछि गाउँभरी खुसीयाली छाएको बताइन् । यस्तै निर्माण समितिका कोषाध्यक्ष गिता कवर मगरले विगतमा सानो पानीको श्रोतबाट थोरै थोरै तरकारी खेती गर्नेगरेको तर सुन्तला, अन्य फलफुल र तरकारी खेतीका लागि समस्या हुनेगरेकोमा वृहत सिंचाइ आयोजना सम्पन्न भएपछि आफुहरुलाई हौसला मिलेको बताइन् ।

आयोजनाले जलवायु परिवर्तनको असरबाट समस्यामा परेका किसानहरुलाई सिंचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ । समयमै बाली लगाउन, खडेरीमा समेत सिंचाई गर्न र किसानहरुको आर्थिक अवस्थालाई माथि उठाउनका लागि वृहत सिंचाइ आयोजनाले फाइदा पुर्याउने गाउँपालिका अध्यक्ष बुढाथोकीको विश्वास छ ।

आर्थिक वर्ष २०७९।०८० बाट सुरु भएर चालु आर्थिक वर्षमा सम्पन्न योजना अन्तर्गत ७० घनमिटरका दुईवटा सिंचाइ पोखरी निर्माण भएका छन् । ४ हजार ५०० मिटर पाइपलाइनमार्फत करिव ८ हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याइएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला कोअर्डिनेटर तारा प्रसाद आचार्यले जानकारी दिए । गाउँपालिका र नेपाल जलवायु सहयोग कार्यक्रमको ७८ लाख ३३ हजार अनुदान तथा १३ लाख ३२ हजार ८८७ रुपैयाँको जनश्रमदान गरेर ९१ लाख ६५ लाख ८८७ रुपैयाँ लगानीमा सिंचाइ आयोजना सम्पन्न भएको उनले जनाए ।

बाँझो जमिनमा सिंचाइ सुविधा पुगेपछि आधुनिक र व्यवसायीक रुपमा कृषिलाई अगाडी बढाउन सजिलो हुने छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको भनाई छ । सुन्तला र टिमुर खेतीको पकेट क्षेत्रको रुपमा रहेको काप्रेचौर क्षेत्रमा अवदेखि आकाशे पानीमा निर्भर रहनुपर्ने अवस्था अन्त्य भइ आवश्यकता अनुसार बाह्रै महिना र २४ सै घण्टा सिंचाइ गर्न सकिने भएको छ । ‘जलवायु परिवर्तनको असरबाट जोखिममा परेका किसानलाई काप्रेचौर जरेखोली सिंचाइ आयोजनाले निकै ठूलो सहयोग पुर्याएको छ’, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला कोअर्डिनेटर आचार्य भन्छन्, ‘उपभोक्ताहरुले आयोजनाको सामान्य मर्मत सम्भार, रेखदेख र संरक्षण गरेमा कम्तीमा पनि ३० वर्षसम्म यस आयोजनाले फाइदा पुर्याउने देखिन्छ ।’

उद्घाटन कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तिला घर्ती, स्थानीय उपभोक्ताहरु डिल्ली प्रसाद आचार्य, तुलसीराम भण्डारी, पूर्ण बहादुर बुढा लगाएतले सिंचाइ आयोजनाले कृषिको माध्यमबाट जिविकोपार्जनमा सुधार हुने अपेक्षा राखेका थिए । सो अवसरमा पोखरी निर्माणका लागि जग्गा उपलब्ध गराउने महिन्द्री कुमारी घर्ती र देव बहादुर घर्तीलाई सम्मान गरिएको थियो ।

स्थानीय तहहरुको साझेदारीमा बेलायत सरकारको आर्थिक सहयोग, मोट म्याक्डोनाल्डको प्राविधिक सहयोग र नेपाल सरकार वन तथा वातारण मन्त्रालयद्वारा सल्यानका ४ स्थानीय तहमा नेपाल जलवायु सहयोग कार्यक्रम दोश्रो चरण सञ्चालन भएको छ । छत्रेश्वरी गाउँपालिकासंगै जिल्लाको शारदा र बागचौर नगरपालिका तथा कुमाख गाउँपालिकामा नेपाल जलवायु सहयोग कार्यक्रम अन्तर्गत विभिन्न योजना र कार्यक्रम सम्पन्न भएका छन् ।

३२ असार २०८१, सोमबार १६:४० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्