२३ भाद्र २०८१, आईतवार

मधेसमा कांग्रेसलाई अर्थसहित चार मन्त्रालय, आजै शपथ

कर्णाली अपडेट

काठमान्डाैं । मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेसको शर्त मान्दै सरकारमा सहभागी गराउन तयार भएका छन्।

कांग्रेसले मागेको अर्थसहित चार मन्त्रालय दिएर मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

बिहीबार अपराह्न ५ बजेपछि कांग्रेसले नाम पठाउने चार जना मन्त्रीलाई नियुक्त गरी शपथग्रहण गराउन लागिएको हो।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार पार्टीबाट नार्दनसिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सुनिलकुमार यादवलाई अर्थ, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी र कौशलकिशोर रायलाई श्रम तथा यातायात मन्त्री बनाउने तयारी छ।

संघमा कांग्रेस र एमालेबीच सत्ता गठबन्धन बनिरहँदा मधेसमा जनमतलाई दिने सहमति भएको थियो। त्यसै अनुसार कांग्रेसले जनमत पार्टीका मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएको थियो।

गत असार २२ गते मधेस प्रदेश सभामा विश्वासको मत दिनुअघि कांग्रेसलाई अर्थसहित चार मन्त्रालय दिने मौखिक सहमति भएको थियो। तर सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले अर्थ मन्त्रालय नदिने अडान लिएपछि मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन।

पूर्वसहमतिअनुसार मुख्यमन्त्री सिंहले कांग्रेसलाई अर्थ मन्त्री नदिए बिहीबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसका सांसदहरुले चेतावनी दिएका थिए।

संसदीय दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने चेतावनीपछि मुख्यमन्त्री सिंहले पूर्वसहमतिअनुसार कांग्रेसलाई सरकारमा लैजान तयार भएका हुन्।

३ श्रावण २०८१, बिहीबार १६:२४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्