३१ भाद्र २०८१, सोमबार

सामुदायिक विद्यालयको रकम हिनामिना भएको छानबिन समितिको निष्कर्ष

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको एक सामुदायिक विद्यालयमा करोडौँ रकम हिनामिना भएको उजुरीपछि छानबिन थालिएको छ ।

जाजरकोटको नलगाड नगरपालिका–७, दल्लीमा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयका नाममा जम्मा गरिएको रकम हिनामिना भएको उजुरीपछि छानबिन थालिएको हो । जिल्ला प्रशासन कार्यालयको पत्रअनुसार नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबनि समिति बनेको थियो ।

उक्त समितिमा भट्टराईसँगै आर्थिक प्रशासन शाखा प्रमुख यामलाल ढकाल र योजना शाखा प्रमुख लालबहादुर खत्री सदस्य थिए । उक्त समितिले तयार गरेको छानबिन प्रतिवेदन अनुसार उक्त विद्यालयमा ठुलो मात्रामा रकम हिनामिना भएकोले अनुसन्धान गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको छ ।
समितिले तयार पारेको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई बुझाइसकेको पाइएको छ ।

त्रिभुवन मावि ०३८ सालबाट सञ्चालित विद्यालय हो । यही ठाउँमा चर्चित नलसिंहगाड जलविद्युत् आयोजना बन्ने चरणमा छ । उक्त आयोजनाले विद्यालयको नाममा रहेको जग्गा लिएको छ ।
आयोजनाले ०७१ साल माघ २१ गते दक्षिणतर्फको ९०–२–१–० जग्गा प्रति रोपनी चार लाखका दरले तीन करोड ६० लाख ६५ हजार ६ सय रुपैयाँ विद्यालयको नाममा भुक्तानी गरेर जमिन अधिग्रहण गरेको थियो ।

विद्यालयको नाममा बैङ्कमा जम्मा भएको रकम अहिले हिनामिना भएको आशङ्का गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको टोलीले ७ दिनमा गरेको अनुसन्धानले रकम हिनामिना भएको र थप आवश्यक छानबिन गर्नुपर्ने देखाएको छ ।

प्राप्त विवरण अनुसार उक्त रकम नेपाल बैङ्कको चल्ती खातामा रहेको कोटेसन मार्फत सबैभन्दा बढी ब्याज दिने सिटिजन्स बैङ्कको जाजरकोट शाखाबाट वार्षिक ६ प्रतिशत ब्याज प्राप्त हुने गरी उक्त बैङ्कको मुद्दती खातमा जम्मा गरिएको थियो ।

रकम जलविद्युत् आयोजनाले दिएको भन्दा ३ लाख ५० हजार कम अर्थात् तीन करोड ५७ लाख १५ हजार ६ सय रुपैयाँ मात्र ०७३ साल असार २२ गते पाँच वर्षका लागि भनेर उक्त बैङ्कको मुद्दती खातमा जम्मा गरिएको देखिन्छ ।

बाँकी ३ लाख ५० हजार रकम नेपाल बैङ्क लिमिटेडको जाजरकोट शाखामा रहेको उक्त विद्यालयका निवर्तमान प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर सिंहले अध्ययन समितिलाई जानकारी गराएका छन् । यद्यपि उक्त तथ्य विद्यालयको बैङ्क स्टेटमेन्ट छैन । सिटिजन्स बैङ्क शाखा जाजरकोटबाट प्राप्त ब्याज ९८ लाख ६६ हजार ४३२ रुपैयाँ ६७ पैसा भने प्राप्त भएको छ ।

सिटिजन्स बैङ्कमा जम्मा भएको रकममध्ये एक करोड ५० लाख ०७८ साउन १० गते साङ्ग्रिला विकास बैङ्कमा चेक क्लियरिङ्ग मार्फत रकमान्तर गरिएको छ । प्रतिवेदन अनुसार सिटिजन्स बैङ्कबाट प्राप्त ब्याज तथा साँवा रकम विभिन्न व्यक्तिको नाममा निकासा भएको छ भने अहिले बैङ्कमा कुनै पनि रकम मौज्दात छैन ।
साथै सिटिजन्स ईन्टरनेशनलमा रहेको मुद्दती खाताबाट विद्यालयले ०७६ कार्तिक १६ गते मौज्दात मध्ये मुद्दती रसिदको धितो ५० लाख कर्जा समेत उपभोग गरेको र सो कर्जा उपभोग गरेवापत् विद्यालयले ९ लाख १२ हजार ३७.७५ रुपैयाँ उक्त बैङ्कलाई ब्याज बापत बुझाएको देखिएको छ ।

५० लाख रकम लिन ०७६ कार्तिक २५ गते विद्यालय व्यवस्थापन समितिको निर्णय गरेको देखिए पनि ब्याज भुक्तानी सम्बन्धी निर्णय उपलब्ध हुन नसकेको अध्ययन समितिले जनाएको छ ।
स्रोतका अनुसार उक्त विषयप्रति अख्तियारले पनि चासोका साथ हेरिरहेको छ ।

त्रिभुवन माविका प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर सिंहले सबै कुराहरू छानबिन समितिलाई बुझाइसकिएको बताए । सिंहले भने, ‘हामीले सबै डकुमेन्टहरू समितिलाई बुझाएका छौँ । प्रतिवेदनमा भनेजस्तो छैन होला ।’ व्यक्तिका नाममा रकम भुक्तानीको विषयमा सिंहले काम गरेपछि व्यक्तिको नाममा भुक्तानी हुन स्वाभाविक नै रहेको बताए । ‘सबै नगरपालिकाको भर परेर बस्न सकिँदैन, केही काम गर्नलाई ऋण सापट गरेर आफ्नै तरिकाले काम गर्नै पर्ने हुन्छ,’उनले भने, ‘मुद्दतीकै पैसा ल्याएर निर्माण सामग्रीको काम चाहिँ भएको छैन ।’

रातोपाटी

१७ श्रावण २०८१, बिहीबार १३:३२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्