३१ भाद्र २०८१, सोमबार

खुम्बु क्षेत्रमा लेदोसहितको बाढीले बगायो विद्यालयको छात्रावास र ६ वटा घर

कर्णाली अपडेट

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को थामे क्षेत्रमा लेदोसहित आएको भीषण बाढीले विद्यालयको छात्रावास र ६ वटा घर बगाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भूसालले थामे आधारभूत विद्यालयको छात्रावास र ६ वटा घर बगाएको जानकारी सूचना प्राप्त भएको जानकारी दिए।

उनले पनि मानवीय क्षति भएको जानकारी नआएको बताए। ‘ती घरमा मान्छेहरू थिए  पहिल्यै सुरक्षित स्थानमा गएका छन्,’ उनले भने ।

प्रशासकीय अधिकृत भूसालले बाढी आएको स्थानमा पुग्नै साढे १ दिनभन्दा बढी लाग्ने समेत बताए।

त्यहाँ टासी र लाप्चा जाने बाटोका तालहरू फुटेको आकलन गरिएको उनले बताए। ‘काठमाडौंबाट हेली मगाएका थियौं तर मौसम खराबीका कारण सम्भव भएन,’ उनले भने।

उनले टासी र लाप्चे जाने बाटोमा भएका हिमतालहरू फुटेको अनुमान गरिएको जानकारी दिए।

‘प्रहरी पठाइएको छ, तर त्यहाँ पुग्नै दुई दिन लाग्छ,’ उनले भने।

प्रशासकीय अधिकृत भूसालले त्यहाँ मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको पनि बताए।

‘गुम्बाहरू अग्लो ठाउँमा हुन्छन्, हामीले स्थानीयहरूलाई त्यस्ता ठाउँमा गएर बस्न भनेका छौं। टेलिफोन र सामाजिक सञ्जालमार्फत हामी निरन्तर स्थानीयहरूसँग जोडिएका छौं,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्‍बुले सूचना जारी गरेर सुरक्षित स्थानमा जान भनेको छ। प्रशासनले पनि अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ।

३२ श्रावण २०८१, शुक्रबार १७:२१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्