२ कार्तिक २०८१, शुक्रबार

कर्णाली प्रदेशका खर्कहरु संरक्षण गरिदै

कर्णाली अपडेट संवाददाता

जाजरकोट । कर्णाली प्रदेशभित्र रहेका खर्क (पाटन) हरुको संरक्षण गरिने भएको छ । प्रदेशको पहिचानको रूपमा रहेका पाटनहरूको अस्तित्व जोगाउनका लागि सो क्षेत्रको संरक्षणका कार्यक्रमहरू सञ्चालन गरिने भएको हो ।

डिभिजन वन कार्यालयहरूको सहजिकरणमा ‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिटी स्टडिज’ नामक संस्थाले कर्णालीका पाटन क्षेत्रको अवस्थाको अध्ययन गरी संरक्षण तथा प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गर्न लागेको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा खर्कहरू संरक्षणका लागि नीतिगत व्यवस्था नै गरेर योजना अघि सारेपछि यो कार्यले प्राथमिकता पाएको हो ।

कर्णालीका १० जिल्ला मध्य सबैभन्दा बढी डोल्पा जिल्लामा खर्कको क्षेत्रफल रहेको छ । त्यस्तै हुम्ला, मुगु, जुम्ला र कालिकोटमा पनि पर्याप्त खर्क क्षेत्र रहेको संस्थाले जनाएको छ । त्यसै गरी जाजरकोट, रुकुम पश्चिम र दैलेख जिल्लामा पनि खर्क क्षेत्रहरू पर्याप्त रहेको पाइएको छ । सल्यान र सुर्खेतका खर्क क्षेत्रको समेत अध्ययन गरी संरक्षणका कार्यक्रमहरू सञ्चालन गरिने उक्त संस्थाले अध्यक्ष डा. शिवबाबु श्रेष्ठले बताए । आफूहरूले करिब २५ सय वर्ष पहिलेदेखि हालसम्मको यस क्षेत्रको खर्कको अवस्थाको बारेमा अध्ययन गरिरहेको डा. श्रेष्ठको भनाई छ ।

खास गरी समुद्री सतहदेखि ३५ सय मिटर उचाइमा रहेको बोटबिरुवा नभई मसिनो घाँस भएको क्षेत्रलाई खर्क अथवा पाटन भनिन्छ । जलवायु परिवर्तनका कारण पछिल्लो समय खर्कहरूको अस्तित्व समेत सङ्कटमा पर्दै गएको छ । परिवर्तित मौसम र पशु चौपाया पालनमा कमी लगायतका कारणले घस्यान क्षेत्रमा मिचाहा प्रजातिका बोटबिरुवा फैलिएर सो क्षेत्रको पहिचान नै बदलिन पुगेको छ ।

उक्त क्षेत्रको परिवर्तनले सिङ्गो मानव जीवनमा समेत प्रभाव पारेको डिभिजन वन कार्यालयका प्रमुख राधाकृष्ण दासले बताए । मङ्गलवार जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न खर्कहरूको अवस्था मापन तथा व्यवस्थापन रणनीति र कार्य योजना विषयक जिल्ला स्तरीय गोष्ठीमा कार्यालय प्रमुख दासले यस्तो बताएका हुन ।

जिल्लाका सबै सरोकारवालाहरूको सहभागिता रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भेरी नगरपालिकाका नगरप्रमुख सिपी घर्तीले खर्क क्षेत्रको अस्थित्व पुर्खाहरूसँग जोडिएकोले यसको संरक्षण गर्नु हामी सबैको अधिकार रहेको बताए । प्रदेश सरकारले अघि सारेको उक्त कार्यक्रमलाई आफुहरुले स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको नगरप्रमुख घर्तीको भनाई छ ।

९ आश्विन २०८१, बुधबार १५:४७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्