२ कार्तिक २०८१, शुक्रबार

दुई सय ५६ वर्ष पुरानो खड्ग फूलपाती सहित जाजरकोट दरबारमा भित्राइयो

सराेज वली

जाजरकोट । नेपाल एकीकरण अभियानका सिलसिलामा गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले दुई सय ५६ वर्ष अघि जाजरकोट राज्यलाई उपहार स्वरूप दिएको खड्ग अर्थात् तरबार बडा दशैको फूलपातीको अवसर पारेर शक्तिको प्रतीकको रूपमा जाजरकोट दरबारमा भित्राइएको छ । बडादसैँका अवसरमा फूलपाती भित्र्याउने कार्यक्रम अनुसार तत्कालीन जाजरकोट राज्यको शक्तिको प्रतीकको रूपमा रहेको उक्त खड्ग आज (बिहीबार) जाजरकोटको पुरानो सदरमुकाम जगतीपुरबाट जाजरकोट दरबारमा भित्र्याइएको हो ।

जाजरकोट दरबारमा भित्राइएको उक्त खड्गलाई दसैँको फूलपाती अर्थात् सप्तमी, महाअष्टमी, महानवमी र विजयादशमीको दिन सम्म पन्चे वाचाको ध्वनिका साथ बोका, राँगाको बली दिएर भव्य रूपमा पूजाआजा गरी दशमीकै दिन टीका लगाइसकेपछि जगतीपुरमै फर्काउने परम्परा रहे पनि मुलुकको १० वर्षे माओवादी द्धन्दका क्रममा असुरक्षाका कारण उक्त खड्ग २०५८ देखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमा राख्ने गरिएको थियो । यस वर्ष देखि पुरानै परम्परा अनुसार जगतीपुरबाट खड्ग जाजरकोट दरबारमा भित्र्याइएको हो ।

स्थानीय सर्वसाधारणहरू, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरूको सहभागितामा शङ्ख धन्वी र बाजागाजा सहित भेरी नगरपालिका ४ गैरीखालीमा पुजाआजा र सलामी दिएर आज बिहान उक्त खड्गलाई जाजरकोट दरबार लगिएको हो । बोकाको बली दिएर प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विधि पूर्वक पूजाआजा गरेर दरबारमा फूलपाती र खड्ग भित्र्याएका हुन् । सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सलामी दिएका थिए । फूलपातीका दिन विशेष पूजाआजा सहित बली दिएर जाजरकोट दरबारमा रहेको जमरा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ । जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ । पहिला राजाले गर्ने खड्ग पूजा २०१८ साल पछि प्रमुख जिल्ला अधिकारीले गर्दै आएका छन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गत वर्ष गएको भूकम्पले दरबारमा क्षति पुराएपछि दरबारलाई त्रिपालले ढाकेर राखिएको छ । त्यही क्षतिग्रस्त दरबारमा विधिपूर्वक शक्तिको प्रतीक खड्ग भित्र्याइएको हो ।

विक्रम संम्वत १८२५ माघ ५ गते काँसीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालीन जाजरकोटी राजा हरि शाहसँग नेपाल एकीकरण अभियान सफल पार्ने उदेस्यले धर्मसंन्धी गर्दै उक्त खड्ग ( तरबार ) जाजरकोट राज्यलाई उपहार स्वरूप दिएका थिए । दुई राज्यका बिचमा एक अर्कालाई सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग जाजरकोटी राजालाई दिइएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । उनले झन्डै ७ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतीपुरमा राखिएको उक्त खड्ग अर्थात् तरबार १८५२ सालमा अहिलेको सदरमुकाम खलङ्गामा राजधानी सारिएपछि दसैँको फूलपातीका दिन विशेष पूजाआजा सहित जगतीपुरबाट खलङ्गा दरबारमा ल्याउने परम्परा सुरु भएको बताए ।

२४ आश्विन २०८१, बिहीबार १४:५७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्