जाजरकोट । कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटको नयाँ भवन उद्घाटन गरिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन कार्यक्रममा बोल्दै सिंहले अब कर्मचारीले उच्च मनोबलका साथ सेवा प्रवाह छिटोछरितो सम्पादन गर्ने बताउनुभयो । पहिले कागज जातहरुबाट हुने काम अहिले महालेखाले सुरु गरेको डिजिटल लेखा प्रणालीले काममा थप पारदर्शिता ल्याउने पनि उहाँले बताउनु भयो । उहाँले नयाँ भवन बने सँगै सेवा प्रवाह थप चुस्त दुरुस्त हुनुका साथै प्रभावकारी सेवा प्रवाह गरी कार्यसम्पादनमा अब्बल बन्न समेत आग्रह गर्नुभयो ।
तामाकोसी कन्स्ट्रक्सन प्रा.ली. दोलखाले २०७९ असोज २ मा सम्झौता गरी १८ महिना भित्रै कार्य सम्पन्न गर्ने गरी भ्याट बाहेक तीन करोड ६ लाख ८ हजार ९ सय ८१ रुपियाँमा ठेक्का सम्झौता गरेकोमा गत वर्ष कार्तिक १७ गतेको भूकम्पले निर्माण कार्यलाई केही प्रभावित पारि तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएपछि पहिलो पटकका लागि २०८१ जेठ २ गते सम्मका लागि म्याद थप गरि निर्माण कार्य सम्पन्न भएको जिल्ला कोष नियन्त्रक नवराज वलीले बताउनु भयो । यसअघि कोष तथा लेखा नियन्त्रक कार्यालयले भाडाको भवनबाट सेवा दिँदै आएको थियो । नयाँ भवन बनेसँगै सेवा प्रवाहमा सहज हुने उहाँको भनाइ छ ।