७ मंसिर २०८१, शुक्रबार

नलगाड नगरपालिकामा जग्गाको निस्सा वितरण कार्य शुरु

भिम खड्का

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण शुरु गरिएको छ ।
पहिलो दिन वडा नम्बर ४ ‐ साविक लहँ गाविस) मा बसोबास गरिरहेका भूमिहीन दलित,भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो । नगरपालिकामा प्राप्त निवेदनहरुलाई झण्डै २ वर्षको अवधिमा कम्प्युटरमा दर्ता गरी निस्सा वितरणको काम शुरु गरिएको हो ।

 शुक्रबार नलगाड नगरपालिका वडा नम्बर — ४ का महादेव वलीलाई पहिलो निस्सा प्रदान गरेर कार्यक्रमको शुरु भएको छ । नगरपालिकाको कार्यालयमा आयोजित भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको निवेदन दर्ताको निस्सा वितरण कार्यक्रममा नगर प्रमुख डम्बर बहादुर रावत, आयोगका विज्ञ-सदस्य नबराज शाही तथा सदस्य चन्द्रा अधिकारीले संयुक्तरुपमा वलीसहित ११ जनालाई निवेदन दर्ताको निस्सा प्रदान गर्नुभएको थियो ।

नलगाड नगरपालिकाका १३ वटा वडामा जम्मा ४३ जना भूमिहिन दलित, १४ जना भूमिहिन सुकुम्वासी र १४ सय ५८ जना अव्यवस्थित बसोवासी गरी कुल १ हजार ५ सय १५ जना छन् । वडा नम्बर ४ मा मात्र १ जना भूमिहिन दलित, र ३८ जना अव्यवस्थित बसोवासी गरी कुल ३९ जना रहेका छन् । बाँकी वडा कार्यालयले क्रमस निस्सा वितरण गर्ने योजना रहेको छ ।
लामो समय सम्म सार्वजनिक तथा ऐलानी जग्गामा बसिरहेका भूमिहीन दलित, भुमिहिन सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति जाजरकोटको सहकार्यमा निस्सा वितरण गरिएको हो । नलगाड नगरपालिकामा रहेका र हालसम्म निवेदन पेस गरेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको निवेदन दर्ताको निस्सा वितरण गरिएको नगर प्रमुख डम्बर बहादुर रावतले जानकारी दिनुभयो ।

निस्सा वितरणको सवै काम सम्पन्न भएपछि छिट्टै नै उनीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ । ‘पहिलो चरणमा नगरपालिकामा सबै प्रक्रिया पुगेकाले निस्सा वितरण सुरु गरेका हौं’ प्रमुख रावतले भन्नुभयो– ‘पुर्जा वितरणका लागि नापजाँच टोली आएर जग्गा छुट्याएपछि पुर्जा वितरण गर्छौं ।’ शुक्रबारबाट शुरु यो वितरण कार्य यहि माघ अन्तिमसम्म चल्ने छ ।

नगरपालिकाका नगर प्रमुख, कार्यपालिका सदस्यहरु,सम्बन्धित वडाका वडाध्यक्ष, वडा सदस्य, नगरपालिकाका प्रशासकीय अधिकृत दिनेश भट्टराई सहित नगरका कर्मचारी राष्ट्रिय भुमि आयोगका विज्ञ-सदस्य नबराज शाही,सदस्य चन्द्रा अधिकारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा निस्सा वितरण गरिएको थियो ।

१९ माघ २०८०, शुक्रबार १६:५५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्