जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–७, स्यालामा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। माघ ९ गते राति करिब १० बजे बालिकालाई धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको थियो। हत्या गरी शव घाँस राख्ने टहरामा लुकाइएको थियो।
प्रहरीले माघ १० गते बिहान ५ बजे बालकलाई बारेकोट–६, ताँसीस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ। बालकलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी जाजरकोटका सुचना अधिकारी दिनेश तिमल्सिनाले जानकारी दिए ।
घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार ( चक्कु ) बरामद गरिएको तिमल्सिनाले बताए । प्रहरी निरीक्षक तिमिल्सेनाका अनुसार, “घटनाको प्रारम्भिक अनुसन्धान सकिएको छ। अब अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ।”
११ माघ २०८१, शुक्रबार ११:३२ मा प्रकाशित