जाजरकोट । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नलगाड नगरपालिका-७, दल्ली मा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार, आमा समूह, युवा क्लब, बाल क्लबसहित ८५ जनाको सहभागिता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले ग्रामीण क्षेत्रमा नियमित गस्ती (पट्रोलिङ) बढाउने, लागुऔषध नियन्त्रणलाई कडाइ गर्ने, प्रहरी र नागरिकबीच नियमित अन्तरक्रिया हुने वातावरण बनाउने, तथा सेवा प्रवाहलाई छिटोछरितो र पारदर्शी बनाउने विषयमा सुझाव राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रावत ले समुदायको सक्रिय सहभागिता बिना शान्ति सुरक्षा प्रभावकारी नहुने बताउँदै प्रहरी-नागरिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाउनु भयो ।
त्यसैगरी, डीएसपी पाण्डेले समुदायको सुझावलाई गम्भीर रूपमा लिई कार्यान्वयन गर्ने बताउँदै, शान्ति-सुव्यवस्था कायम गर्न प्रहरी सँधै तत्पर रहने उल्लेख गर्नुभयो।कार्यक्रममा सहभागीहरूले अवैध मदिरा र लागुऔषध नियन्त्रण, आपराधिक गतिविधि न्यूनीकरण, तथा स्थानीयस्तरमा प्रहरी सेवाको सहज पहुँच जस्ता विषयमा चासो व्यक्त गरेका थिए।
स्थानीयवासीले समस्याहरू समाधान गर्न प्रहरी- नागरिक समन्वय अझै बलियो बनाइनुपर्ने आवश्यकता औंल्याएका थिए। सहभागीहरूले यस्तो कार्यक्रम निरन्तर गर्नुपर्ने सुझाव राख्दै प्रहरी प्रशासन र समुदायबीचको सहकार्य अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।समाजको शान्ति सुव्यवस्था सुधारका लागि प्रहरी र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउन आवश्यक छ। यसप्रकारका नागरिक सुनुवाई कार्यक्रमले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डे को अध्यक्षता रहेको थियो भने नगरप्रमुख डम्बर बहादुर रावत प्रमुख अतिथि रहनुभएको थियो।