जाजरकोट । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा कुशे गाउँपालिकामा पहिलो पटक आयोजित A Side Seven Man शुभकामना तथा फुटबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगितामा आयोजक टिम नेपाल लोकतान्त्रिक खेलकुद संघ विजेता बनेको छ।
वैशाख ७ गते उद्घाटन भई ९ गते सम्पन्न भएको प्रतियोगिताको फाइनल खेल आयोजक टिम र पशुपति मा.वि., कुशे–५ दम्दालाबीच भएको थियो। खेलको छैटौँ मिनेटमा आयोजक टिमका खेलाडी अर्जुन शाही (जर्सी नम्बर–७) ले गरेको गोल निर्णायक बन्यो र टिमले १–० को जित हात पार्यो।
प्रतियोगितामा कुशे गाउँपालिकाका ६ ओटा टिमको सहभागिता रहेको थियो, जसलाई लिग प्रणालीमा खेलाइएको थियो।
प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य बेदराज सिंह रहेका थिए। विशेष अतिथिमा जिल्ला समन्वय समिति जाजरकोटका सदस्य जितबहादुर रोकाया, कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत, उपाध्यक्ष देविका कुमारी सिंह र संघका सभापति नबराज शाहीको उपस्थिति रहेको थियो।
विजेता टिमलाई नगद रु ३० हजार कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टिमले नगद रु २० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि आयोजक टिमका भुपेन्द्र सिंहले हात पारेका छन्।
संघ गठनपछि यो जाजरकोट जिल्लाको पहिलो प्रतियोगिता भएको र यसले युवामा खेलप्रतिको रुचि बढाउने अपेक्षा गरिएको संघका अध्यक्ष नबराज शाहीले बताए।