जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडकबहादुर बुढाले आफू निर्वाचनमा विजयी भएमा जाजरकोटलाई समृद्ध बनाउने दाबी गरेका छन्।
शुक्रबार छेडागाड नगरपालिका–१३ कार्कीगाउँमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आफू निर्वाचित भए समग्र जाजरकोटको विकास र समृद्धिमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। कांग्रेसबाट उम्मेदवार भए पनि आफू सबैको साझा उम्मेदवारको रूपमा अघि बढेको उनले बताए।
उम्मेदवार बुढाले मतदातालाई पैसाको पछि नलागी संगठन मजबुत बनाउन र आफूलाई विजयी गराउन आग्रह गरे। दुःख–सुख साट्न तथा विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउनकै लागि राजनीतिमा आएको उनको भनाइ थियो।
कार्यक्रममा समानुपातिक उम्मेदवार हजारी नेपालीले पार्टी र आस्था फरक भए पनि मतदान रूख चिन्हमै गर्न आग्रह गरिन्। यसअघि कम्युनिष्ट पार्टीहरूले निरन्तर निर्वाचन जिते पनि जाजरकोट विकासमा पछि परेको उनको आरोप थियो।
उम्मेदवार नेपालीले परिवर्तनका लागि राजनीतिमा आएको बताउँदै राजनीतिमा आउनुअघि समाजसेवा र कलाकारितामा सक्रिय रहेको उल्लेख गरिन्। निर्वाचनमा विजयी भए जनताका समस्यालाई नजिकबाट बुझेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।














