जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका सभापति तथा कर्णाली प्रदेशका सांसद बेदराज सिंहले आगामी फागुन २१ गते हुने निर्वाचनले जाजरकोटको भाग्यरेखा कोर्ने बताएका छन्।शुक्रबार छेडागाड नगरपालिका-१३ कार्की गाउँमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त निर्वाचन जाजरकोटका लागि निर्णायक हुने बताए।
पश्चिम क्षेत्रबाट कांग्रेसले उम्मेदवार सिफारिस गर्नु गौरवको विषय भएको उल्लेख गर्दै उनले जाजरकोटमा सबैभन्दा युवा उम्मेदवार खडक बहादुर बुढा रहेको बताए। सिंहले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव जित्नकै लागि १६ दलसँग एकीकरण गरेको आरोप लगाए।
उनले मतदातालाई पार्टी परिवर्तन नगरे पनि मत परिवर्तन गर्न आग्रह गर्दै भूगोल, माटो, युवा र परिवर्तनका पक्षमा मतदान गर्न अनुरोध गरे। देशमा माया, इमानदारी हराउँदै गएको र गालीगलौज हावी हुँदै गएको भन्दै उनले देश गलत दिशातर्फ गइरहेको चिन्ता व्यक्त गरे।
यस्तो अवस्था रोक्न कांग्रेसले चुनाव जितेर देशको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो। देशको आवश्यकताका लागि कांग्रेसको जित अनिवार्य रहेको दाबी गर्दै सिंहले सबैलाई एकजुट भएर कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे।














