१२ श्रावण २०८१, शनिबार

जाजरकाेटका ५० हजार नागरिक स्वास्थ्य बीमाकाे पहुँचमा

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटमा स्वास्थ्य बीमा गर्नेको संख्या ५० हजार नाघेको छ । जिल्लाभर कुल ५० हजार २ सय १५ जनाले स्वास्थ्य बीमा गरेका छन् । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा जाजरकाेटका ५० हजार नागरिकले स्वास्थ्य बीमा गरेका हुन् । जिल्लामा ७८ दर्ता सहयोगी परिचालित छन् । बीमा गर्नेको तथ्याङ्क हेर्दा नगरपालिका तर्फ भेरी नगरपालिका अगाडि रहेको छ भने नलगाड र छेडागाड पछाडि छन् । गाउँपालिका तर्फ कुशे गाउँपालिका अगाडि रहे पनि अन्य तीन गाउँपालिका निकै पछाडी छन् ।

जिल्लामा स्थानीय दर्ता सहयोगी गाउँपालिका तथा नगरपालिकाले खुला प्रतिस्पर्धावाट राखेका हुन् । उनीहरुले आफ्ना तर्फवाट पहल गरेका छन् तर जनप्रतिनिधीहरुले जनताको स्वास्थ्यलाई प्राथमिकता नबनाउँदा सात बर्ष वित्दा समेत पनि पचास प्रतिशत जनसंख्याको वीमा भएको छैन् ।

स्वास्थ्य बीमाको प्रावधानअन्तर्गत पाँच जना सम्मको परिवारले वार्षिक प्रतिपरिवार तीन हजार पाँच सय, परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रति सदस्य ७ सयका दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने व्यवस्था छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाख सम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी भएमा एक लाख पचास हजार सम्मको सेवा पाइने प्रावधान छ ।

कार्यक्रमबाट बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका लगाउने, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचार लगायत कस्मेटिक बाहेकका सबै प्रकारको उपचार सेवा पाउने बताइएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा एक हजार १ सय १८ प्रकारका औषधोपचार पाइने स्वास्थ्य बीमा कार्यालय जाजरकोटका संयोजक ईराजन शाहीले जानकारी दिए । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा पैसाको अभावमा उपचार नपाउने गरीब एवं विपन्न नागरिकका लागि सरकारले जाजरकोटमा पनि स्वास्थ्य बीमाको शुभारम्भ गरेको हो । सरकारले बीमा कार्यक्रममा आबद्ध सदस्यको निःशुल्क उपचारकै लागि विभिन्न जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, सरकारी तथा निजी अस्पतालसित सम्झौता समेत गरेको छ ।

कुन पालिकामा कति वीमित ?
जिल्लाका सात वटा पालिका मध्ये सबैभन्दा बढी भेरी नगरपालिकामा आवद्ध छन् भने कम शिवालय गाउँपालिकाका नागरिकहरुले स्वास्थ्य वीमा गरेको प्रमुख शाहीले बताए । शाहीले दिएको तथ्यांक अनुसार भेरी नगरपालिकामा १६ हजार ७ सय २४ जनाले स्वास्थ्य वीमा गरेका छन् भने शिवालय गाउँपालिकामा १ हजार ५ सय ७८ नागरिकले स्वास्थ्य वीमा गरेका छन् । यस्तै, नलगाड नगरपालिकामा सात हजार एक सय ९ जना, छेडागाडमा ८ हजार ४ सय ७८ जना, बारेकोटमा ४ हजार ३ सय १५ जना, कुशेमा ७ हजार ३ सय ७५ जना र जुनीचाँदे गाउँपालिकामा ४ हजार ४ सय ८० जना नागरिकले स्वास्थ्य वीमा गरेका छन् ।
बीमितले उपचार पाउनै मुस्किल
स्वास्थ्य बीमा गरेका वीमितहरुले अहिले पनि निःशुल्क औषधी पाउन सकेका छैनन् । बारेकोट गाउँपालिका — ०२ रोकायगाउँका रंगविर कामी उपचारका लागि आधारभुत अस्पताल लिम्सामा पुगे । उनले ४ बर्ष अघि देखि स्वास्थ्य बीमा गरेका थिए । तर अस्पतालले बीमा वापत औषधी आउँदैन् भन्दै फर्काइदियो । उनी जस्ता धेरैले सजिलै वीमा गरे वापतको उपचार पाउन सकेका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयको फार्मेसीले वीमाको विल समेत दिने गरेको छैन् । छेडागाड, बारेकोट, गर्खाकोटको स्वास्थ्य चौकीले सेवा दिन सकेका छैनन् ।

वीमा गरे वापत उपचार पाउन मुस्किल देखिन्छ । स्थानीय तहले स्वास्थ्य वीमालाई प्रभावकारी रुपमा लिन नसक्नुको कारण आम जनताले उपचार पाउन नसकेको स्वास्थ्य वीमा कार्यालय जाजरकोटका संयोजक इराजन शाहीले बताए । ‘अहिले सम्म यहाँका स्थानीय तहहरुले वीमालाई वेवास्ता गरेको जस्तो लाग्छ, उनले भने, ‘स्वास्थ्य वीमा गरे वापत सेवाप्रदायक संस्थाहरुले सेवा दिन सकेका छैनन ।’ यसका लागि यहाँका स्थानीय तहले प्राथमिकताका साथ स्वास्थ्य वीमालाई लिनुपर्ने उनले बताए ।

कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा समस्या
वीमा कार्यालय जाजरकोटमा पर्याप्त कर्मचारी नहुदाँ काम गर्न निकै समस्या भएको संयोजक शाहीले बताए । एक जना कार्यालय संयोजक बाहेक अरु कर्मचारी नहुदाँ सबै काम आफैले गर्नुपर्दा सेवा प्रवाहमा अलि समस्या भएको छ । उनले भने, ‘शुरुमा कर्णालीका दुई वटा जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम लागु भएको थियो, त्यसवेला यहाँ पनि तीन जना कर्मचारी थियौ काम गर्न सजिलो भएको थियो, अहिले स्वास्थ्य वीमा कार्यक्रम देशका सबै जिल्लामा भएका कारण कर्मचारी सरुवा भएका कारण यहाँ कर्मचारी छैनन् ।’ यहाँका स्थानीय तहहरुले स्वास्थ्य वीमा कार्यक्रमलाई आफ्नो मातहतमा लिई कर्मचारी व्यवस्थापन गर्न सके यस जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम अझ् प्रभावकारी हुने शाहीले विश्वास व्यक्त गरे ।

स्वास्थ्य बीमा सम्बन्धी जनचेतना आवश्यक
स्वास्थ्य बीमा सम्बन्धी जाजरकोटका नागरिकमा जनचेतनाको कमी रहेको संयोजक शाहीले बताए । उनले भने, ‘यहाँका नागरिकहरुमा स्वास्थ्य बीमा सम्बन्धी जनचेतना निकै कमी छ, कतिपयले भन्नुहुन्छ पहिलो पटक वीमा गरेको पैसाको फिर्ता अर्थात डब्बल कहिले आउँछ भन्नुहुन्छ ।’ स्वास्थ्य वीमा गर्ने नागरिकले के बुझ्न जरुरी छ भने, स्वास्थ्य वीमा गर्दा नेपालका जुनसुकै सरकारी अस्पतालमा निशुल्क उपचार हुन्छ ।

प्रत्येक वर्ष नवीकरण गरी प्रत्येक नागरिकलाई सहयोग गनुपर्ने जोड दिए । कर्मचारी अभावका कारण गाउँगाउँमा जनचेतनामुलक कार्यक्रम गर्न नसकिएको स्वीकार गरे । स्थानीय सरकारले स्वास्थ्य वीमाको महत्व बुझी त्यहाँ नागरिकलाई वीमा गर्न प्रोत्साहन गर्न जरुरी रहेको समेत बताए । यहाँका स्वास्थ्य संस्थामा भने जस्तो औषधी उपचार नपाउँदा स्वास्थ्य बीमा प्रति नागरिकको वितृष्णा जागेका कारण सेवाप्रदायक संस्थाहरुले प्रभावकारी काममा जोड दिन आवश्यक रहेको छ ।

२० फाल्गुन २०८०, आईतवार ०९:०० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्