जाजरकोट । भेरी नगरपालिकाले स्थानीय आपतकालीन केन्द्र स्थापना गरेको छ । गोर्खा वेल्फेर ट्रष्ट, नेपालको सहयोगमा नगरपालिकाले स्थानीय आपतकालीन केन्द्र स्थापना गरेको हो ।
थाप्लेचौर स्थित नगरपालिकाको प्रशासनिक भवनको तल्लो तलामा केन्द्रको स्थापना गरिएको नगरप्रमुख सिपी घर्तीले जानकारी दिए । नगरप्रमुख घर्तीका अनुसार गोर्खा वेल्फेर ट्रष्ट, नेपालले आपतकालिन अवस्थामा आवश्यक विभिन्न सामाग्रीहरु समेत सहयोग गरेको छ । ट्रष्टले बाढी, पहिरो, आगलागी लगायतका प्रकोपहरुको उद्धारमा काम लाग्ने करीब ५ लाख बराबरको समान नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
त्यस्तै ट्रष्टले नगर तथा वडा स्तरिय विपद व्यवस्थापन योजना समेत निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकाका विभिन्न वडामा खानेपानी योजना लगायतका भौतिक पूर्वाधारका क्षेत्रमा समेत सहयोग गरेको भन्दै नगरप्रमुख घर्तीले गोर्खा वेल्फेर ट्रष्ट, नेपाललाई धन्यवाद दिए ।
ट्रष्टले भौतिक पूर्वाधार संगै नीतिगत रुपमा पनि नगरपालिकालाई महत्वपूर्ण सहयोग गरेको नगरप्रमुख घर्तीले बताए ।