६ जेष्ठ २०८१, आईतवार

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएनन्, एमाले–माओवादी बैठक बस्दै

कर्णाली अपडेट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि अबको कदमबारे एमाले–माओवादीको संयुक्त बैठक केही बेरमा बस्दै छ । उक्त बैठकले अबको कदमबारे निष्कर्ष निकाल्ने स्रोतको दाबी छ । विराटनगरस्थित बिग होटलमा बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ ।

उता, हिजोसम्म विराटनगर बाहिर रहेका प्रदेश प्रमुख पर्शुराम खापुङ विराटनगर आइपुगेका छन् । पाँचथरको फालेलुङमा धर्मगुरु फाल्गुनन्दको शालिक अनावरणका लागि तीन दिन अगाडि त्यहाँ पुगेका खापुङ आज बिहानै विराटनगर आइपुगेका हुन् । ‘प्रदेश प्रमुखज्यू आइसक्नु भयो । आज राती धनकुटाको राजारानीमा बसेर बिहान विराटनगर आइपुग्नु भएको हो,’ स्रोतले भन्यो ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अबको दुई दिनसम्ममा यो प्रक्रियाको टुङ्गो लाग्ने बताए । ‘प्रदेश प्रमुखज्यू परामर्शमा हुनुहुन्छ । दुई तीन दिन लाग्ला,’ उनले भने । उता, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि प्रदेश प्रमुख आइसकेपछि थप परामर्श हुने बताए ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गर्नुपर्ने बताए । ‘उहाँलाई यसअघि नै हामीले सबैकुराको लिखित मौखिक जानकारी गराएका छौं । उहाँले सरकार गठनको आव्हान गर्नुपर्छ । बहुमत लिएर गएपछि नयाँ सरकार गठन हुन्छ,’ उनले भने, ‘यो प्रक्रिया आज, भोलि नै टुङ्गो लाग्छ ।’

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयावधि मङ्गलबार रातको १२ बजेपछि सकिएको छ । गत चैत २६ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार त्यसदिनदेखि ३० दिनभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने थियो । प्रदेशसभाको विशेष अधिवेशनबाट गत वैशाख ७ गते सङ्कल्प प्रस्ताव पारित गर्दै मुख्यमन्त्रीलाई संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिन ध्यानाकर्षण गराइसकेको छ ।

संविधानको सो उपधारामा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ,’ भन्ने उल्लेख छ । एमालेले त्यसबेलासम्म सरकारलाई समर्थन गरिरहेको थियो भने माओवादी सरकारमै सहभागी थियो ।

मुख्यमन्त्री कार्की २०८० असोज २८ गते संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका हुन् । त्यसबेला उनलाई एमालेका ३९ र एमालेका ८ सांसदले समर्थन गरेका थिए । प्रदेशसभामा बहुमत प्राप्त गर्नका लागि ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीलाई हाल नेपाली काँग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी)का ४ गरी ३३ सांसदको मात्रै समर्थन छ ।

२६ बैशाख २०८१, बुधबार ०८:५४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्