९ कार्तिक २०८२, शनिबार

कुदुमा साढे पाँच करोडको लिफ्ट सिँचाइ आयोजना सम्पन्न, पहिलो पटक धान रोपाइ

कर्णाली अपडेट संवाददाता

जाजरकोट । भेरी नगरपालिका १३ कुदुका किसानले पहिलो पटक आफ्नो खेतमा धान रोपेका छन् ।

सिँचाइको सुविधाको अभावमा वर्षौँदेखि बाझिएको जमिन यसपालि हरियाली बनेको छ । एकीकृत कर्णाली सिँचाइ आयोजनाको साढे ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा आएसँगै स्थानीय किसानहरू उत्साहित बनेका छन् ।

सिँचाइको पहुँच नहुँदा खण्डहरजस्तो देखिने कुदुमा अहिले खेतीपाती सुरु भएको छ । भेरी नगरपालिका वडा नं १३ का लोकेन्द्र रोकायले भने, “हामीलाई अब वर्षामा मात्र भर पर्नु परेन, सिँचाइ पुगेपछि पहिलो पटक खेतमा धान रोप्न पायौँ ।”
उक्त आयोजनाबाट लामितरा, रोकाय गाउँ, कुस्तरा र बटालागाउँका करिब ४ सय ८५ घरधुरीका २ हजार ३ सय ८६ जनसङ्ख्या लाभान्वित भएका छन् । आयोजनाबाट करिब ७६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको एकीकृत कर्णाली सिँचाइ आयोजनाका कार्यालय प्रमुख कृष्ण प्रसाद डुम्रकोटीले जानकारी दिनुभयो ।

वर्षौँ देखि सिँचाइ र खानेपानीको अभाव खेप्दै आएका त्यस ठाउँका स्थानीय अहिले घर नजिकै खानेपानी र सिँचाइको सुविधा भएपछि भेरी नदीको दूषित पानी खानबाट मुक्त भएको स्थानीय रमेश बटालाले बताउनु भयो । आयोजना निर्माणले किसानहरू वर्षात कुर्नुपर्ने बाध्यता हटेको, उब्जनी बढ्ने र आम्दानीमा सुधार आउने आशा गरिएको छ ।

१० असार २०८२, मंगलवार १६:१४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्