विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन भेरी नगरपालिका र नलगाड नगरपालिकाको विभिन्न वडामा खोज तथा उद्धारका सामग्री तथा जोखिम नक्सा हस्तान्तरण गरिएको छ।
नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणको मार्गदर्शनमा भेरी नगरपालिकामा २४ किसिमका तथा नलगाड नगरपालिकाको वडा नं. ६ र ७ मा २५ किसिमका खोज तथा उद्धारका सामग्री प्रदान गरिएको हो। विपद्को बेला वडास्तरमै उद्धार कार्यलाई सहज बनाउने उद्देश्यले यी सामग्रीहरू प्रदान गरिएको हो।
यसका साथै भेरी नगरपालिकाको वडा नं. १ र ३ तथा नलगाड नगरपालिकाको वडा नं. ६ र ७ मा वडास्तरीय जोखिम नक्सा पनि हस्तान्तरण गरिएको छ। दुवै कार्यक्रम अन्तर्गत कुल रु ३ लाख ५० हजार भन्दा बढी मूल्यका सामग्रीहरू हस्तान्तरण गरिएको बताइएको छ।
कार्यक्रम “पहुँच वृद्धि” परियोजनाअन्तर्गत ह्याण्डिक्याप इन्टरनेश्नल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको साझेदारीमा सञ्चालित अपाङ्गता भएका महिला, बालबालिका तथा संकटापन्न व्यक्तिहरुको शारीरिक पुनःस्थापना र आर्थिक समावेशिता सेवा सुदृढ गर्नका लागि आयोजना गरिएको हो।
भेरी नगरपालिकामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सिता जैसी, पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्त, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश वटाला, विपद् व्यवस्थापन शाखा प्रमुख यज्ञनाथ गौतमलगायतको उपस्थिति रहेको थियो।
नलगाड नगरपालिकामा वडा नं. ६ का वडा अध्यक्ष विरेन्द्र खड्का, वडा नं. ७ का वडा अध्यक्ष कृष्ण बहादुर गिरी तथा पाँचतारा युवा संरक्षक मञ्चका सहसचिव बलराम शाहको उपस्थितिमा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।
यस कार्यक्रमले आपतकालीन अवस्थामा जीवन रक्षाको सुनिश्चितता, उद्धार कार्यमा सहजता, मानवीय क्षति न्यूनीकरण, सुरक्षा सुनिश्चितता र समन्वयात्मक प्रभावकारितामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।