१५ जेष्ठ २०८१, मंगलवार

अब मजदुरी गर्न भारत जाँदैनन् बझाङ आनन्दपुरका किसान

कर्णाली अपडेट

– बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहाेराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाउनुभयो । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोज्नुभएको हो ।

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका बोहाेरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन । छोड्नुपर्ने अवस्था पनि छैन । पाँच कट्टामा बिउ रोप्नुभएका बोहाेरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उहाँको रोजाइ तरकारी खेती नै भएको छ ।

‘दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो । गएकाे हप्ता ३४ हजार रुपैयाँको आलु बिक्री गरे । अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ’, बोहाेराले भन्नुभयो । उहाँ यस वर्ष मात्र लामो समयसम्म घरमा बस्नुभएको हो । वर्षमा झण्डै आठ महिना समय बोहाेराको भारतमै मजदुरी गरेर बित्थ्यो । उसबाटै उहाँको परिवारको खर्च चल्थ्यो । बोहाेराले भन्नुभयो, ‘एक वर्षयता मजदुरी गर्न भारत गएको छैन । आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु । अब मजदुरी गर्न भारत जाँदैन ।’

कृषि ज्ञान केन्द्रले बिउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहाेराले बताउनुभयो । ‘हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन । कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ । यसरी व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो । सुरूआतमै फाइदा भयो ।’

बोहाेराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ । अहिलेसम्म २७ हजार रुपैयाँको आलु बिक्री गरिसकेको उहाँले सुनाउनुभयो । किशोरावस्थामै पुरुष विद्यालय छोडेर भारतमा मजदुरी गर्न जाने गरेका छन् । रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा हुनुहुन्थ्यो ।

रमादेवीले भन्नुभयो, ‘अब गाउँमै तरकारी खेतीमै मिहेनत गर्न लगाउँछु । यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ । पढाइ पनि गर्छ, भारत पठाउँदिनँ ।’

राजमार्ग नजिकका कृषक तरकारी खेतीतर्फ

मनमती बोहाेरा ७१ वर्षकी हुनुभयो । उहाँलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन । ‘एकपटक श्रीमानले बाली फेर्नुपर्यो भनेर आलु र टमाटर लगाउनुभएको थियो तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन ।’ त्यसपछि कहिल्यै आलु नलगाएको उहाँले बताउनुभयो ।

यसपटक भने एकै गह्राबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताउनुभयो । ‘हाम्रो सबै बारी गरेर तीन क्विन्टल बराबर मकै फल्थ्यो । आफूले खाने, बस्तुभाउलाई खुवाउनमै बराबर हुन्थ्यो । यसपटक भने नसोचेकै आलु उत्पादन भयो । आलु निकाल्न, सुकाउन घरमा सबैलाई दौडधुप भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

धवलसिंह बोहाेरा अहिले दोस्रो चरणमा आलु बजारीकरण गर्नका लागि तयारी गरिरहेका छन् । ‘पहिलो चरणमा लिएको आलु कैलालीसम्म पुग्यो’, उहाँले भन्नुभयो, ‘फेरि आलु निकालेर सुकाइरहेका छौँ । अब दोस्रो हप्ता ट्रकमा नै तराईसम्म लिने तयारी भइरहेको छ ।’

धवलसिंहको परिवारमा अहिले पाँच जना हुनुहुन्छ । पाँचै जना आलुकै पछाडि लागिरहनुभएको छ । दुई वर्ष अगाडिदेखि नै नेपाल आउनुभएका धवलसिंहलाई यसपटक भने व्यावसायिक सफलता मिलेको छ । ‘वर्षभरि काम गर्दा एक हजार रुपैयाँ पनि गाउँमा नकमाउने हामी अहिले निर्धक्क छौँ । समयअनुसारको व्यवसायबाट लाभ लिन सकिने रहेछ भन्ने सिकाइ पनि भयो ।’ उहाँले भन्नुभयो ।

यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभयो । ‘कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बिउदेखि बजारसम्मको काम गरिरहेका छौँ’, विष्टले भन्नुभयो, ‘काम गर्ने कृषकका लागि हामी रात दिन नभनी सहयोग गर्छौँ ।’ आनन्दपुरमा पनि आफूले गरेको मेहेनतअनुसार सिँचाइ, मलको अभाव हुँदासमेत निकै राम्रो फलेको उहाँले बताउनुभयो । ‘कृषकले इमानदारिताका साथ काम गरेमा उहाँहरूको भविष्य कृषिमै सुनिश्चित हुन्छ ।’ उहाँले भन्नुभयो ।

जिल्लामा विभिन्न प्रकारका हाइब्रिड खाले तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले चैते धानको पनि सफल परीक्षण गरिसकेका छौँ । ड्राइगन खेती भरखर सुरू गरेका छौँ । नतिजा सफलोन्मुखतिरै देखिएको छ ।’

नेपालमा मजदुरी गर्न पनि पाइन्नँ

आनन्दपुरकै सीताराम तीन वर्ष अगाडि सडकमा ग्याविन जाली भर्ने काम गर्नुहुन्थ्यो । तीन महिनासम्म लगातार सडकमा काम गरेको ज्याला एक वर्षसम्म पनि नपाएपछि उहाँ पिथौरागढ हानिनुभयो । ठेकेदारले भोलि भोलि भन्दै हैरानी पारेपछि परिवार पाल्नै समस्या भयो । बिस्तारै ठेकेदारले फोन नउठाउने, अफ गर्ने भएपछि साउनको महिना सीताराम पिथौरा जानुभयो ।

काम गर्ने अवसर हुँदाहुँदै पनि मजदुर ठगिने हुँदा नेपालमा बस्ने समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मान्छे । काम गराएर पैसा नदिएपछि त गाउँघरमा कसरी बस्नु ?’ काम गरेको पैसा समयमै पाउनुको सट्टा उल्टै ‘दश ढोग, अठार सलाम’ गर्नुपर्ने उहाँले बताउनुभयो । ‘पिथौरागढमा भने काम गरेपछि जुन बेला पनि पैसा पाउँछ’, उहाँले भन्नुभयो, ‘पिथौरामा सानो ठूलो काम गरेपछि उसैबेला पैसा पाइन्छ । पैसाको खाँचो पनि हुँदैन । काम भने शक्तिअनुसारकै हुन्छ ।’

भारतकै पैसाले फेरिएको आनन्दपुर

आनन्दपुरमा ३५ जना परिवार छन् । ती परिवारका सदस्य प्रायजसाे भारतको पिथौरागढमै छन् । सानाेतिनो काम गर्न सक्ने सबै पुरूष चार महिनाबाहेकका आठ महिना मजदुरीका लागि जाने गर्छन् । पिथौरागढमा उहाँहरू भारी बोक्ने, गाडी उतार्ने, भर्ने, सामान ओसारपसार गर्नेलगायतका काम गर्नुहुन्छ । धनसिंह बोहाेराले भन्नुभयो, ‘ पिथौरागढमा जति काम गर्यो, त्योअनुसारको पैसा आउँछ । तीन चार महिनामै कमाएको पैसाले पनि वर्षभरि घर खर्च चल्छ । यहाँ त खाली बस्नुपर्छ, नुन, तेल किन्ने पैसा पनि कमाउन सकिँदैन ।’

काम गरे कमाउन सकिने भन्दै बाजे बराजुको पालादेखि पिथौरागढमा हाम्रो रोजीरोटीस्थल बनेको उहाँले बताउनुभयो । पिथौरागढमा कमाएको पैसाले अहिले आनन्दपुर नै फेरिएको छ । ‘पहिले सबैका घरहरू स–साना खरले छाएका थिए । अहिले भने गाउँको रूप नै फेरिएको छ । धेरैले पक्की घर बनाइसकेका छन् । कतिपयका निर्माणाधीन अवस्थामा छन् । घरहरू छरिएका नभएको भए टाढाबाट बिछट्टै सुन्दर देखिन्थ्यो होला ।’ अहिले आनन्दपुरमा कमजोर हुनेले पनि राम्रो घर बनाइसकेको उहाँले बताउनुभयो ।

पिथौरागढ आनन्दपुरवासीको रोजाइमा पर्नुको कारण नजिकको विदेशी सहर भएकाले हो । आनन्दपुरबाट बिहान गए बेलुका पिथौरागढ पुग्न सकिने, सधैँ गएको ठाउँ पनि हुँदा काम गर्न सजिलो हुँदा सबैको मजदुरको छनोटमा परेको उहाँले बताउनुभयो ।

२८ असार २०८०, बिहीबार १२:४१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्