२७ बैशाख २०८१, बिहीबार

उमेरले जेठो कान्छो विचारले पुरानाे

कुलचन्द्र वाग्ले

बहुदलीय प्रणालीमा राजनीतिक दलहरु स्थापना गरिन्छन् । कतिपय दल विघटनसमेत हुनेगर्छन् । नेपालकै सन्दर्भमा पनि यस्तो भएको छ । दलहरूको जीवन्तता र नयाँपन वा दल नयाँ पुरानो मान्ने कारण के हुन्छ ?

नयाँ राजनीतिक दल स्थापना भए पनि त्यसको विचार नयाँ वा पुरानो दुवै हुनसक्छ । उदाहरण– नेपाली कांग्रेस नेपालको दलीय इतिहासमा जेठो र दक्षिण एसियाकै पुरानो दलमध्ये एक हो । यहाँ प्रयोग भएको ‘जेठो र पुरानो’ शब्दको अर्थ उस्तै मिल्ने होइन । जेठो र पुरानो पहिचानमा केही समानता र धेरै भिन्नता छ ।

प्रसंगवश कांग्रेसको सन्दर्भमा कसैले पुरानो र कसैले जेठो पार्टी भन्ने गरेको सुनिन्छ । सँगसँगै प्रयोग पनि गरिन्छ । यी दुई शब्द कतै समानार्थी हुन् कि भन्ने लाग्छ । कतिपय प्रयोग यसरी नै भएको भान पर्छ । तर जेठो सम्बोधनको र पुरानो भनिनुको अर्थ भने भिन्न हुन्छ । यही भिन्नताले कांग्रेसमा रूपान्तरण र शुद्धीकरणको बहस सतहमा आएको हुनुपर्छ ।

सहजताको लागि नेपाली कांग्रेस हाम्रो देशको जेठा वा पुरानो पार्टी हो भन्न मिल्छ । तर, जेठो के कारण र पुरानो के कारण ? भन्ने प्रश्न पनि सँगसँगै आउँछ । स्थापनाको मितिले जेठो वा पुरानो ? जेठो स्थापना, जन्म र प्रायः पहिलो हुनुले भनिन्छ । तर, पुरानो भनिने कारण यतिमै सीमित बुझिनु हुँदैन ।

आधुनिक नेपाली राजनीतिमा अग्रणी भूमिका निर्वाह गरेको कांग्रेस स्थापनाले पनि यहाँको जेठो दल हो । तर, पुरानो दल भन्न भने आंशिकरूपले मात्रै मिल्ला । त्यसो त यतिबेला कांग्रेसलाई विचार र सिद्धान्तको ताजगीको स्थिति हेर्दा पुरानो र जेठो भन्नुमा त्यति अन्तर नहोला ।

जेठो स्थापनाले बनाउँछ । पुरानो विचार, सिद्धान्त र कार्य योजनाले पनि निर्धारण गर्छ । जेठो हुँदैमा पुरानोसमेत हुनैपर्छ भन्ने होइन । कांग्रेस यतिबेला विचारले पनि पुरानो हुँदैछ । विचारमा सामयिकता, सिद्धान्तमा ताजगी र कार्य योजनामा नयाँपन नहुँदा वा समय एवं समाजलाई सम्बोधन गर्न नसक्दा दलहरू पुराना भनिन सक्छन् ।

नेपाली कांग्रेस यही चरणबाट गुज्रिँदै छ । यस कारण यतिबेला कांग्रेसलाई पुरानो दल भन्नु अन्यथा लाग्दैन । किनभने ऊ विचार शून्य व्यवहारतिर जाँदैछ । विचारलाई व्यवहारले छायामा पारिदिएको छ वा ‘बाउ,बाजेले घिउ खा’थे, मेरो हात सुँघ’भन्ने अवस्थामा यतिबेलाको कांग्रेस छ ।

अमेरिकाको डेमोक्रेटिक पार्टी दुई सय वर्षअघि ( सन् १८२८ मा) स्थापना भएको हो । यहाँ गणतान्त्रिक र प्रतिस्पर्धात्मक चुनाव हुन थालेको पनि दुईसय छत्तीस वर्षभन्दा ( सन् १७८७ देखि) बढी भएको छ । यस्तै बेलायतको कन्जरभेटिभ (टोरी) पार्टी स्थापनाको (सन् १८३४) पनि दुईसय वर्षभन्दा लामो अवधि पार भएको छ ।

अन्य मुलुकमा पनि स्थापनाले पुरानो भनिने दलहरू अहिले आआफ्नो मुलुकमा प्रभावशाली नै छन् । शक्तिशाली देशका त्यस्ता दल विश्व व्यवस्थामा समेत केही न केही दखल राख्ने हैसियतमा पनि छन् । कतिपय सक्किएका पनि छन्, होलान् । तर, सबै सक्किएका छैनन् ।

धेरैजसो स्थापना (जन्म) दिवसले (जेठो) पुराना भनिने दलहरुकै शासन छ दुनियाँका देशमा । त्यस्ता दल जेठा हुनसक्छन् तर पूर्णतः पुराना भने भन्न मिल्ने होइनन् । ती जेठा वा पुराना भनिने दलहरु अहिलेसम्म पनि किन वा के कारण प्रभावशाली छन् त ? पुनर्ताजगीकै कारण त होला ?

बाँचेका ती जेठा दलले विचारलाई नयाँ पन दिए । समयलाई सम्बोधन गर्न सिद्धान्तको परिमार्जन गरे । मूलभूत सिद्धान्तमा परिवर्तन नै त होइन तर परिमार्जन समय र समाजलाई सम्बोधन गर्न गरिने हो । दलहरुको जीवनको लागि यो निरन्तरको प्रक्रिया हुनुपर्छ । कतिपय दलले आफ्नो मूलभूल मान्यतामा समेत परिवर्तन गरेर जीवन जोगाउने गरेका छन् ।

जस्तै (सय वर्षभन्दा पुरानो) चीनको सत्ताधारी कम्युनिस्ट पार्टी (सीपीसी) को आर्थिक मान्यता साम्यवादी हो । उसले राजनीतिमा कम्युनिस्ट (एक दलीय) मान्यतालाई पछ्याउँदै अर्थनीतिमा पुँजीवाद मिसाएको छ । अर्थात्, आर्थिक मान्यता पूरै परिवर्तन गरेर विकास र जीवन सीपीसीले हासिल गरेको छ ।

नेपालको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद(जवज)’ परिवर्तको यही धरातलमा आएको हो । छद्म षड्यन्त्रको दस्तावेज होइन भने एमालेको जवज राजनीतिक र आर्थिक दुवै दृष्टिले परिवर्तन हो ।

अधिनायवादी, एक दलीय त्यसमा पनि ‘वर्गीय अधिनायकवादी’ सिद्धान्त प्रेरित एमालेले बहुदलीय प्रतिस्पर्धा स्वीकारेपछि परिमार्जन मात्रै होइन, परिवर्तन भयो । आर्थिक नीतिमा पनि यही भएको छ । कम्युनिस्टहरु बारम्बार सत्तामा पुग्दा तिनको अर्थनीति समाजवादी शब्द कलेवरभित्र खुला र पुँजीवादी मान्यता लिएरै हिँडेको छ ।

पुरानो र नयाँ वा जेठोभन्दा यहीँको अर्को उदाहरण हो–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल (थापा समूह) । यी पार्टीको स्थापना २०४६ सालको जनआन्दोलनले ल्याएको बहुदलीय प्रजातन्त्रपछि कायम भएको हो ।
राप्रपा स्थापनाले कति वर्षको भयो ? तीन दशक थप तीन वर्ष । यसलाई नयाँ पार्टी भन्ने कि पुरानो ? विचारले तुलना गर्दा राप्रपा पुरानो पार्टी हो । यसलाई केही वर्ष अघिसम्म खासगरी कम्युनिस्टहरुले पश्चगामी पार्टी भन्ने गर्थे । विचारले पश्चगामी हो भने त्यो पार्टी कसरी नयाँ मानिने ? विचारको पुरानो भयो । स्थापनाले राप्रपा कान्छो हारको भए पनि विचारले धेरै पुरानो भयो ।

अहिले केही त्यस्तै पार्टीको आगमन भएको छ । मुलुकी राजनीतिमा ती कति टिक्छन् यकिन छैन । त्यसो त यकिन कसको पो होला र ? कुनै बेलाको ऐतिहासिक पार्टी प्रजापरिषद् पनि रहेन । गोर्खा दल पनि बचेन ।

दलहरु बाँच्ने सिद्धान्त र व्यवहारको संयोजनले हो । समय र समाजलाई सम्बोधन गर्नसक्दा बाँच्ने हो । आगमित नयाँ दल तिनको सैद्धान्तिक स्पष्टता छैन । तिनलाई लोकप्रियतावादी करार गरिँदैछ । हो पनि ।

त्यस्तो दलको केही कुरा बाहिर आएको भए पनि ती न ‘हाँसको चाल, न कुखुराको चाल’ भने जस्ता बहुअर्थी, विरोधाभाषी वा अन्तरविरोधी विचारको जोडजाड छ । त्यसले समाजलाई सम्बोधन गर्न सक्दैन । त्यसैले यस्ता दलले आफ्नो अस्तित्व अरूलाई दुत्कार्ने र अरूको दोष देखाएर बचाउने उपाय गरेका हुन्छन् ।

दलहरूको पहिचान अर्थात् अनुहार विचार वा आदर्श हो । विचारले नै संगठन र शक्ति पाइन्छ । दलको ऊर्जा यसैमा छ । विचारशून्यता वा भ्रमोत्पादक विचार पहिचानहीनता पनि हो । यस्तो अवस्थामा कुन दललाई पुरानो मान्ने र नयाँ भन्ने ? नयाँ सिसीमा पुरानै पदार्थ भने जस्तालाई–नयाँको पगरी कसोरी सुहाउँछ र ?

यही अर्थमा दलहरूको जेठो र पुरानो सम्बोधन अवस्थितिबीच अर्थ भिन्नता छ ‘?’

२८ असार २०८०, बिहीबार १५:४१ मा प्रकाशित
Nabintech