७ जेष्ठ २०८१, सोमबार

उच्च रक्तचाप हुँदा औषधि नखाए के हुन्छ ?

कर्णाली अपडेट

उच्च रक्तचापको समस्या आउनासाथ दुई कुरा मनमा आउँछन् । एउटा दीर्घरोगको सिकार र आजीवन औषिध खानुपर्ने रोग ।

धेरैजसोले त औषधि खान झन्झट मानेर खाँदै छाड्दै पनि गरेका हुन्छन् भने केहीले आजीवन औषधि सेवनको डरले औषधि नै नखाने गरेकोसम्म पनि देखिन्छ । जसले झनै जोखिम निम्त्याउँछ ।

उच्च रक्तचाप भएपछि औषधि आजीवन खानैपर्छ ?

उच्च रक्तचापको औषधि बाँचुञ्जेलको लागि भन्दा पनि बच्नलाई खाने हो भनेर बुझ्नुपर्छ । रक्तचाप अनियन्त्रित हुँदा शरीरका विभिन्न अंगलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गर्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिको रक्तचाप सन्तुलन गर्न र अन्य अंग जोगाउन औषधि आवश्यक छ । किनभने अन्य रोग जस्तै ज्वरो, टाइफाइड हुँदा औषधि खाएर निको भएजस्तो उच्च रक्तचापको औषधिले निर्मूल बनाउँदैन । त्यसैले चिकित्सकको निगरानी र सल्लाहमा यसको औषधि सेवन गरिरहनुपर्छ ।

कतिपय अवस्थामा औषधि केही समयपछि रोक्न पनि सकिन्छ । जस्तै, थाइराइराइड बढेर प्रेसर बढेको अवस्थामा यसको उपचार सफल भएमा प्रेसरको औषधि आवश्यक नपर्न सक्छ । मिर्गौलामा रगत प्रवाह गर्ने नली साँघुरियो भने रक्तचाप बढ्न सक्छ । र, त्यो नली खुलाइयो भने प्रेसरको औषधि आवश्यक नपर्न सक्छ ।

त्यस्तै केही प्रतिशत मात्र मोटोपन छ । त्यसको कारण रक्तचाप छ भने मोटोपन कम गर्दै लैजाँदा प्रेसर पनि कम हुँदै जान्छ । त्यस्तै कोलेस्टेरोलको मात्रा बढी, मुटुरोग र रक्तचाप पनि उच्च छ भने त्यस्ता रोगलाई कम गर्दा रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । तर चटक्कै छोड्न भने मिल्दैन ।

जीवनशैली परिवर्तनले औषधि घटाउन सकिन्छ

रक्तचापको समस्या नियन्त्रण गर्न मेडिकल र नन-मेडिकल दुवैको भूमिका हुन्छ । त्यसैले जीवनशैली परिवर्तनले औषधि घट्न सक्छ ।

सामान्यतया रक्तचाप भएकामध्ये ९० प्रतिशतले नियमित औषधि खानुपर्ने हुन सक्छ । यद्यपि आफ्नो खानपान स्वस्थकर र सक्रिय जीवनशैली बनाउन सकेमा रक्तचापको मात्रा सन्तुलन गराउन सकिन्छ । अर्थात्, उच्च रक्तचापलाई कम गर्न मधुमेह, कोलेस्टेरोल, तौल नियन्त्रण गर्ने, व्यायाम, खानपानले १० प्रतिशतसम्म उच्च रक्तचापको मात्रा घट्न सक्ने हुँदा औषधिको मात्रा कम गर्न सकिन्छ ।

कसैमा यी सबै गर्दा पनि रक्तचाप घटेको छैन भने औषधिलाई निरन्तरता दिनुपर्छ ।

औषधि सधैं एकैनासको नहुन सक्छ

उच्च रक्तचापको औषधि खाइरहेका व्यक्तिलाई सधैं एकै प्रकारको औषधि खाइरहनुपर्छ भन्ने पनि लाग्न सक्छ । औषधि दैनिक खानुपर्ने भए पनि यसको मात्रा फरक–फरक हुन सक्छ । अस्पतालमा फलोअपका लागि बोलाउँदा प्रेसर घटबढको अवस्था मूल्यांकन गरेर औषधि घटाउने वा छाड्ने सुझाव दिइन्छ ।

प्रेसर घट्दै गयो नर्मलभन्दा तल झर्दै गयो भने बल्ल औषधि घटाउँदै गएर छाड्ने हो । तर नियन्त्रण हुँदैमा औषधि छाड्न भने मिल्दैन ।

औषधि नखाँदा के हुन्छ ?

औषधि नखाँदा शरीरको मुख्य-मुख्य भागमा असर गर्छ । रक्तचाप अनियन्त्रित भएसँगै मुटुको चाल गडबड गर्ने, मुटुको पम्प गर्ने क्षमता घटाउने, मुटु सुन्निने, मांसपेशी कमजोर हुने, भल्बलाई क्षति गर्ने, जुनसुकै समयमा हृदयघात हुन सक्छ । त्यति मात्र होइन, मस्तिष्कघात हुन सक्ने, आँखाको दृष्टि घुम्न सक्ने पनि हुन सक्छ । धेरैमा उच्च रक्तचापकै कारण मुटुमा समस्या देखिएर हृदयघात हुनु वा ब्रेनह्याम्रेज, मुटुको चाल अनियमित हुने, हुनुलाई बोलीचालीको भाषामा प्रेसरले हानेको पनि भनिन्छ । प्रेसरले गर्दा ब्रेन ह्यामरेज भएमा मस्तिष्कको एक भागले काम नगर्दा त्यसले निर्देशन दिने भाग चल्दैन । जसले गर्दा प्यारालाइसिस हुन सक्छ ।

औषधिको साइड–इफेक्टको भय

विश्वभर नै मुटु फेल हुनु मानिसको मृत्युको प्रमुख कारक मानिन्छ । मुटु बिग्रिनुमा उच्च रक्तचाप बढी जिम्मेवार हुन्छ । जसकारण उच्च रक्तचाप रोग र औषधिमा वृहत लगानी, वृहत अध्ययन र क्लिनिकल परीक्षणपछि विश्व मान्यता प्राप्त भएर आएका हुन्छन् । जुन धेरैमा प्रयोग भइसकेको र भइरहेको पनि छ । त्यसैले उच्च रक्तचाप नियन्त्रणको औषधि सुरक्षित हुन्छ ।

यसको साइड-इफेक्ट सामान्य हुन सक्ला । तर साइड-इफेक्टकै डरले औषधि नखाँदा हुने मुटु, मस्तिष्क, आँखालाई पुग्न सक्ने क्षति जोखिमपूर्ण हुन्छ ।

यसको औषधिले मिर्गौला बिग्रियो भन्ने कुराको भ्रम पनि व्याप्त छ । लगातार औषधि खाएर भन्दा ठीक भएको जस्तो अनुभव हुँदा छोड्ने र उच्च भएको जस्तो लाग्दा मनपरी खाने बानीले औषधिकै सन्तुलन नमिलेर अन्य अंगमा असर गरेको हुन सक्छ ।

औषधि बीचमा छोड्दा के हुन्छ ?

औषधि नखानु भन्दा बीचमा छोड्नु खतरनाक मानिन्छ । औषधि दिंदा रक्तचापको मात्रा जाँच, पारिवारिक इतिहास, अन्य रोगको अवस्था सबैलाई मध्यनजर गरेर सोहीअनुसार औषधि र मात्रा निर्धारण गरिएको हुन्छ । यस्तोमा आफैंले औषधि बीचैमा छाड्ने र परीक्षण पनि नगराउँदा मुटुलाई प्रत्यक्ष असर गर्छ । यसले मस्तिष्कको रक्तनली ड्यामेज गरी ब्रेन ह्याम्रेज हुन सक्छ । मुटु र नसाहरुमा प्रभाव पार्न सक्छ । त्यसैले जथाभावी बीचैमा औषधि छोडनु हुँदैन ।

२७ असार २०८०, बुधबार १५:५७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्