१२ श्रावण २०८१, शनिबार

कर्मचारीको मनोबल उच्च नभई जनमुखी सेवा प्रवाह हुँदैन : मन्त्री सिंह

कर्णाली अपडेट

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च भए मात्र जनमुखी सेवा प्रवाह हुने बताउनुभएको छ । कर्मचारीहरूको मनोबल उच्च नभई जनमुखी सेवा प्रवाह हुन नसक्ने अवस्था रहेको मन्त्री सिंहले बताउनुभयो ।
२०औं निजामती सेवा दिवस २०८० का अवसरमा शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले जनप्रतिनिधिहरूले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च हुनेगरि लाग्नुपर्ने बताउनु भएको हो ।
‘कर्मचारीहरूलाई राजनीतिक आग्रह र पूर्वाग्रहले व्यवहार गर्नु हुँदैन ।त्यसरी हेरिनु हुँदैन । कर्मचारीहरूले पनि सेवा प्रवाहमा राजनीतिक आग्रह-पूर्वाग्रह राख्नु हुँदैन’, मन्त्री सिंहले भन्नुभयो ‘कुनै दलप्रति आस्था राख्न पाउने उहाँहरूको ट्रेड युनियन अधिकार हो ।तर, कर्मचारीको मनोबल उच्च नभई जनमुखी सेवा प्रवाह हुँदैन भन्ने हाम्रो बुझाई छ । प्रदेश सरकार कर्मचारीहरूलाई उच्च मनोबलका साथ काममा लाग्ने वातावरण बनाउनेतर्फ लागिरहेको छ।’
मन्त्री सिंहले आजको दिनले कर्मचारीहरुलाई पेशाप्रति प्रतिबद्ध बन्न, सेवा प्रवाहलाई प्रभावकारी र जनतामैत्री बनाउन प्रेरणा मिल्ने आफूले विश्वास लिएको बताउनुभयो ।
उहाँले जनतालाई केन्द्रमा राखेर काम गर्न पनि कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्ने मन्त्री सिंहको भनाइ छ ।
‘आजका नागरिक सरल सेवा चाहन्छन् । झन्झटमुक्त सेवा चाहन्छन् । सुशासन र पारदर्शिता चाहन्छन् । भ्रष्ट्राचारमुक्त समाज चाहन्छन् । आजका नागरिक सरल व्यवहार र चुस्त सेवा चाहन्छन् । यसतर्फ तपाईं-हामी सबैले ध्यान दिन जरुरी छ’, मन्त्री सिंहले भन्नुभयो।
सरकार र जनताको भेट गराउने पुल भनेको निजामती क्षेत्र नै भएकाले यसलाई व्यवस्थित, समुन्नत र चुस्त बनाउन सबै सरोकारवाला लाग्नुपर्ने मन्त्री सिंहले बताउनुभयो ।
मन्त्री सिंहले सरकारी सेवा प्रवाह र राजनीतिक व्यवस्थाप्रति जनतामा देखिएको निराशा अन्त्य गर्न पनि कर्मचारीहरू अत्यन्तै लगनशील र जिम्मेवार भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो।
मन्त्री सिंहले सफल राज्य बनाउन र समृद्धि हासिल गर्नका लागि स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुको भूमिका निकै महत्त्वपूर्ण हुने बताउनुभयो । जसलाई सबैले जिम्मेवारपूर्वक मनन् गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले प्रदेश निजामती सेवा विधेयक मन्त्रिपरिषद्‌बाट पारित भई सदनमा टेबुल भइसकेको र छिट्टै सदनबाट पारित भएर ऐनको रूप लिने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रदेश निजामती विधेयकमा कर्मचारीको हित, क्षमता अभिवृद्धि, वृत्ति विकास लगायत धेरै कुरामा प्रगतिशील व्यवस्था गरिएको मन्त्री सिंहले उल्लेख गर्नुभयो ।
‘संयोगले संघ सरकारले पनि हिजो मात्र मन्त्रिपरिषद्‌बाट संघीय निजामती सेवा सम्बन्धमा बनेको विधेयक पारित गरेको खबर पाएका छौं । त्यसलाई अब सदनमा पेस गरेर बाँकी प्रक्रिया अघि बढ्ला नै’, मन्त्री सिंहले भन्नुभयो, ‘हामीले पनि प्रदेशमा प्रदेश निजामती सेवा विधेयक मन्त्रिपरिषद्‌बाट पारित गरि सदनमा पेस गरिसकेका छौं । समितिमा छलफलका क्रममा रहेको छ । त्यो अब छिट्टै सदनबाट समेत पारित हुनेछ र ऐनका रुपमा कार्यान्वयनमा जानेछ।’

२२ भाद्र २०८०, शुक्रबार १२:१२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्