१२ श्रावण २०८१, शनिबार

भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यमलाई निःशुल्क इन्टरनेट सेवा

कर्णाली अपडेट

जाजरकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यमलाई निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने बताएकी छन् । भूकम्प प्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दूरसञ्चारको अवस्था निरीक्षणको क्रममा जाजरकोट आएकी मन्त्री शर्माले हाललाई प्रभावित क्षेत्रका सञ्चारमाध्यमलाई एक वर्षसम्म निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने बताएकी हुन् । काठमाडौं पुगे लगतै यस विषयमा छलफल गर्ने मन्त्री शर्माले बताईन् ।

उनले विद्युत सेवा समेत निःशुल्क गर्न पहल गर्ने उल्लेख गरिन् । आइतबार पत्रकारहरूसँग छलफल गर्दै मन्त्री शर्माले पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको नाममा दुरुपयोग बढेकोले टिकटक बन्द गर्नुपरेको उल्लेख गरिन् ।

मन्त्री शर्माले सरकारलाई प्राप्त गुनासो र यससम्बन्धी परेका उजुरी समेतको आधारमा टिकटक बन्द गर्ने निष्कर्षमा सरकार पुगेको बताईन् । स्वनियमनमा कठिनाइ भएकोले तत्कालका लागि टिकटक बन्द गर्नुपरेको उनले स्पष्ट पारिन् । मन्त्री शर्माले सरकारले सुशासनका पक्षमा गरेका राम्रा कामहरू बाहिर ल्याउन सञ्चार माध्यामहरुको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।

कार्यक्रममा मन्त्री शर्माले लोकतन्त्रको उच्चतम सुन्दरता सङ्घीयता भएको बताएकी छन् । भूकम्पको बेला सङ्घीयताको व्यवहारिक र सुन्दर अभ्यास देखिएको समेत मन्त्री शर्माले उल्लेख गरिन् । स्थानीय तहमा जनप्रतिनिधिहरू नभएको भए जाजरकोट र रुकुमपश्चिममा अझ धेरै क्षति हुने उनको भनाइ छ । २४ घण्टाभित्रै पुरा भएको खोज, उद्धार र उपचारको प्रक्रिया, एकद्वार राहत वितरण प्रणाली जस्तै सोही रफ्तारमा अस्थायी आवास निर्माण र पुनर्निर्माणमा लाग्नुपर्ने उनले बताईन् ।

सरकारले तत्काल अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जानकारी गराउँदै उनले थप दक्ष जनशक्ति आवश्यक परेको खण्डमा पनि माग गर्न आग्रह गरिन् । जिल्लामा आएको बेला उनले भूकम्प प्रभावित र प्रभावित स्थानमा रिपोर्टिङ गर्ने पत्रकारहरूलाई स्लिपिङ ब्याग र ज्याकेट हस्तान्तरण समेत गरिन् । यस अवसरमा नेपाल पत्रकार महासङ्घ जाजरकोट शाखाले भूकम्प प्रभावित सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको हितको लागि माग पत्र पेस गरेको थियो ।

१७ मंसिर २०८०, आईतवार २१:२० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्