७ जेष्ठ २०८१, सोमबार

नेपालीको औसत आयु ७१ वर्ष तीन महिना, सबभन्दा लामो आयु कर्णालीमा

कर्णाली अपडेट

काठमान्डाैं । पछिल्लो १० वर्षमा नेपालीको औसत आयु चार वर्ष नौ महिनाले बढेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको २०७८ को जनगणनाको जनसांख्यिक सूचकअनुसार नेपालीको औसत आयु ७१ वर्ष तीन महिना पुगेको छ। २०६८ को जनगणनामा औसत आयु ६६ वर्ष ६ महिना पुगेको थियो।

राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख हेमराज रेग्मीले कोभिडको कारण अपेक्षित औसत आयु बढ्न नसके पनि विगतको तुलनामा निकै सुधार आएको बताए। २०५८ को तुलनामा २०६८ मा आइपुग्दा नेपालीको औसत आयु ६ वर्ष दुई महिनाले बढेको थियो।

तथ्यांक कार्यालयको सर्वेक्षण अनुसार महिलाको औसत आयुमा भने उल्लेख्य सुधार भएको देखिएको छ। पछिल्लो १० वर्षमा पुरूषको आयु दुई वर्ष १० महिनामात्रै बढेको छ। तर, महिलाको आयु भने पाँच वर्ष आठ महिनाले बढेको छ।

अहिले पुरूषको औसत आयु ६८ वर्ष दुई महिनाको छ। महिलाको ७३ वर्ष आठ महिनामा पुगेको छ।

२०६८ को जनगणनाको आधारमा निकालिएको जनसांख्यिक सूचकमा पुरूषको आयु ६५ वर्ष चार महिना थियो भने महिलाको ६८ वर्ष थियो।

महिला स्वास्थ्य सम्बन्धी जानकार पोषणविद् डाक्टर अरूणा उप्रेतीले महिलाहरूको स्वास्थ्य संस्थाहरूमा बढेको पहुँच तथा सामाजिक सचेतनाको कारण महिलाको औसत आयुमा क्रमश: सुधार आएको बताउँछिन्। २०३८ को जनगणनाको क्रममा महिलाको औसत आयु जम्मा ४८ वर्ष एक महिना मात्रै थियो।

‘अहिले स्वास्थ्य चौकी, अस्पतालहरू धेरै बढेका छन्। उमेर पुगेपछि बिहे हुने, धेरै बच्चा नजन्माउने र खानपिनमा ध्यान दिने गरेको देखिन्छ, यसले महिलाको औसत आयु बढाउन सहयोग पुगेको छ,’ उप्रेतीले भनिन्।

उनले अहिले कुपोषणबाट मृत्यु हुने बालिकाको संख्या घटेको कारणले पनि औसत आयु बढेको बताइन्।

त्यस्तै, सामाजिक शैली तथा स्वास्थ्यप्रति महिलाहरूको सचेतनाको कारण पनि उनीहरूको आयुमा सुधार भएको उनको तर्क छ।

‘छोरी मान्छेले तुलनात्मक रूपमा चुरोट रक्सी कम खान्छन्, खानु हुँदैन भन्ने छ, दुर्घटनामा पर्ने महिलाहरूको संख्या कम हुन्छ,’ उप्रेतीले भनिन्, ‘उक्त रक्तचाप हुनेको संख्या हेर्दा पुरूषको तुलनामा महिला निकै कम हुन्छन्।’

उनले औसत आयु भने संसारभर नै पुरूषको तुलनामा महिलाको बढी हुने बताइन्। वंशाणुगत रूपमा नै पुरूषको तुलनामा महिलाको आयु बढी हुने उनको भनाइ छ।

नेपालमा भने २०६८ सालपछि मात्रै पुरूषको भन्दा महिलाको औसत आयु बढी देखिन्छ।

यस्तो छ विगतको महिला पुरूषको औसत आयु:

वर्ष महिला औसत आयु पुरूष औसत आयु सरदर औसत आयु
२०३८ ४८ वर्ष एक महिना ५० वर्ष नौ महिना ४९ वर्ष आठ महिना
२०४८ ५३ वर्ष पाँच महिना ५५ वर्ष ५४ वर्ष तीन महिना
२०५८ ६१ वर्ष ६ महिना ६१ वर्ष एक महिना ६१ वर्ष चार महिना
२०६८ ६८ वर्ष ६५ वर्ष चार महिना ६६ वर्ष ६ महिना
२०७८ ७३ वर्ष आठ महिना ६८ वर्ष दुई महिना ७१ वर्ष तीन महिना

क्षेत्रगत रूपमा सबभन्दा लामो आयु कर्णालीवासीको देखिएको छ। कर्णालीमा औसत आयु ७२ वर्ष पाँच महिना छ। लुम्बिनीमा भने जम्मा ६९ वर्ष पाँच महिना रहेको छ।

कोशी प्रदेशमा ७० वर्ष चार महिना, सुदूरपश्‍चिममा ७१ वर्ष तीन महिना र मधेसमा ७१ वर्ष ८ महिना औसत आयु रहेको छ। त्यस्तै गण्डकीमा ७२ वर्ष एक महिना र बागमतीमा ७२ वर्ष चार महिना औसत आयु रहेको छ।

२४ बैशाख २०८१, सोमबार १६:१९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्