२०८० कार्तिक १७ गतेको मध्यरातमा रामीडाँडालाइ केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएपछि विगतका केही घटनाहरूले नेपाल भित्र मात्रै चिनाएको जाजरकोट देश बाहिर पनि चिनिन पुग्यो । भूकम्पले ढालेको जाजरकोट र अप्ठेरोमा परेका जाजरकोटीहरुलाइ कोही हेर्न मात्र आए कोही साथ दिन आए । देश भित्रका ७६ जिल्ला वाट मात्र हैन विश्वका विभिन्न देशहरूबाट मानिसहरू जाजरकोटीहरुको दुख र पिडामा साथ दिन अनि जाजरकोट बुझ्न आए ।
भूकम्प पछिको जाजरकोट हेर्नका लागि जाजरकोट सदरमुकाम खलङ्गामा आएका धेरै जसोले जाजरकोटको विकास, पहिचान, र सामथ्र्यलाइ जोडेर धेरै प्रश्नहरू गरे । यहाँको सडकको अवस्था, यहाँको पूर्वाधार विकासको अवस्था अनि यहाँका जनताको सामाजिक र आर्थिक सक्षमताको अवस्थालाई उनीहरूले धेरै कोण वाट अध्ययन गरे । जाजरकोटसंग जोडिएर उनीहरूले सोधेका धेरै प्रश्नहरू मध्य एउटा प्रश्न यस्तो थियो यहाँ घुम्न लायक, हेर्न लायक अनि मनोरन्जन लिन लायक कुनै पर्यटकीय स्थलहरू छैनन् ? उनीहरूले सोचे होलान् कि नेपालका अन्य जिल्लाहरूमा जस्तै कृत्रिम वा प्राकृतिक रूपले निर्मित सम्पदाहरू जाजरकोटमा पनि व्यवस्थित र संरक्षित गरेर राखिएका छन् । उनीहरूलाई पैसा खर्च गर्न कुनै समस्या थिएन । उनीहरू फ्रेस हुन र यहाँको सुन्दरतासङ रमाउन आतुर देखिन्थे । यति मात्रै हैन उनीहरू जाजरकोटी जनताको लागि आर्थिक आयको श्रोत बन्न अनि रोजगारीका अवसर बन्न चाहन्थे ।
उनीहरूको प्रश्न सुन्दा र उत्सुकता हेर्दा लाग्थ्यो जाजरकोटका पुर्खा र प्रकृतिले पनि यो ठाउँमा कुनै आकर्षक पर्यटकीय गन्तव्य वा महत्त्वपूर्ण सम्पदाहरू बनाएका छन् जसलाई अहिलेका पुस्ताले जोगाएर राखेका छन् । खलङ्गाका होटेलमा दुई चार दिन बस्न आएका स्वदेशी तथा विदेशी पाहुनाहरूलाई यहाँ माथि भत्किन लागेको तर कसैले नदेखेको जाजरकोट दरबार छ भन्ने बाहेक कुनै थप जवाफ स्थानीयहरूले दिन सकेनन् । जाजरकोटको सबै अवस्था अध्ययन गरेर यहाँका प्राकृतिक सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको अवस्था गतिलो नदेखेपछि उनीहरूले अर्को प्रश्न गरे के यहाँका सरकार र नेताहरूले केही गर्दैनन्? सरकारले जाजरकोटका यी महत्त्वपूर्ण सम्पदाहरूको संरक्षण विकास र प्रवर्द्धनका लागि बजेट कार्यक्रम हाल्दैन? त्यसको जवाफ दिन पनि स्थानीयहरू अलमलमा परे । अनि उनीहरूले अर्को प्रश्न पनि गरे जाजरकोटको त अहिले सरकार र निजामती सेवामा पनि राम्रै पहुँच छ नि है ? यो प्रश्नको उत्तर दिने वेला ढाड भाँचिएको बिरामी वोले जसरी स्थानीयहरू वोल्थे अँ…. हो.. ।
यसै बिच एउटा अर्को प्रसङ्ग पनि यहाँ राख्न मन लाग्यो । गत वर्ष जाजरकोट दरबारकाे संरक्षणका वारेमा केही कुरा सोधपुछ गर्न म पुरातत्त्व विभागमा गएको थिएँ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको तर्फबाट दरबार संरक्षण तथा संग्राहलय स्थापना सम्बन्धी योजनालाई सहयोग पुराउने गरी कतै वाट बजेट तर्जुमाको सम्भावना छ कि भनेर कुरा गर्दै जाने क्रममा एक जना अधिकृतले भनेको कुराले सारै निराश बनायो । उनले आफ्नो कम्प्युटरमा रहेका योजनाहरूको सुची देखाउँदै भने यदि तपाइको जिल्लाको कोही नेता मन्त्री हुनुहुन्छ या मन्त्रालयमा ठुलो पदमा जिल्लाको मान्छे हुनु हुन्छ भने तपाइले भनेको काम हुन्छ , बजेट पनि पाउन सक्नु हुन्छ । यो कुरा सुनेर मैले जाजरकोटको राजनैतिक नेतृत्वको पहुँच र कर्मचारीतन्त्रमा देखिको पहुँचका बारेमा सोचेँ अनि आसावादी पनि भएँ । यही अनुसार सवैतिर लिखित मौखिक, फोन, मेसेज अनि भेटघाट सबै उपाय वाट यो कार्यका लागि पहल गरेँ । पटक पटक फोन मेसेज र भेटघाट तथा बैठक छलफल निरन्तर गरियो व्यक्तिगत रूपमा पनि संस्थागत रूपमा पनि तर यी सबै पहलले अहिले सम्म कुनै उल्लेखनीय उपलब्धि भने देखिएन । पछि के हुन्छ थाहा छैन ।
सरासर हेर्दै जाँदा जाजरकोटमा कुनै आकर्षक पर्यटकीय गन्तव्यहरू झट्टै देखिँदैनन् ।अनि सवैलाइ लाग्छ मुगुको रारा ताल जस्तो ताल जाजरकोटमा छैन,मनकामनाको मन्दिर जस्तो भव्य मन्दिर जाजरकोटमा छैन ।पोखराको डेविस फल्स जस्तो झरना पनि जाजरकोटमा छैन , गोरखा पाल्पा जिल्लामा जस्तो भव्य आकर्षक दरबारहरू पनि जाजरकोटमा छैनन् । देवघाट पशुपति नाथ जस्तो शिव मन्दिर पनि जाजरकोटमा छैन । अनि कुनै हिमाल, आकर्षक पाटन, देवल, मेला, बाजा, भेसभुसा र अन्य मन लोभ्याउने सम्पदाहरू जाजरकोटमा कुनै पनि छैनन् भन्ने बुझाइ सवैमा छ ।यस्तो सोचाइ र बुझाइ जिल्ला बाहिरका मानिसहरूमा मात्र हैन स्वयम जाजरकोटीहरुमा पनि छ । जल, जङ्गल जमिन मात्र नभएर सामाजिक तथा ऐतिहासिक पहिचान र विशेषताका हिसाबले जाजरकोट कमजोर र शून्य जिल्ला पक्कै पनि हैन तर यसलाई जिल्लावासीले नै माथि उठाउन गतिलो भूमिका नगरेको सत्य हो ।
हिजो राणा या पन्चायतकाल र बहुदल कालमा जाजरकोट विपन्न, दुर्गम र विकट अनि एक्लो थियो तर गणतन्त्र कालपछि कुनै न कुनै हिसाबले जाजरकोटको पहुँच केन्द्रीय राज्यसत्ता सम्म सशक्त छ तर परिवर्तनको आभास मात्र नभएको हो । आज देशमा गणतन्त्र स्थापना भएको १६ वर्ष पुरा भएको छ, जनआन्दोलन सफल भएर सशस्त्र द्धन्द स्थायी रूपमा सकिएको १८ वर्ष पुरा भएको छ भने जनताको संविधान जारी भएको ९ वर्ष पुगेको छ तर अहिले सम्म पर्याप्त अन्न फल्ने खेतबारी भरि पुग्ने जाजरकोटमा ठुलो भरपर्दो सिचाइ योजना निर्माण गर्न सकिएको छैन, जाजरकोट अस्पतालमा विशेषज्ञ सेवा सुरु हुन सकेको छैन, जिल्ला भित्र र बाहिरका मानिसहरूलाई लोभ्याएर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र जनताको आयआर्जनको नियमित श्रोत बनाउने कुनै पर्यटकीय गन्तव्य निर्माणको लागि गतिलो योजना बनाएर कार्यान्वयन गर्न सकिएको छैन, वारेकोटको फलाम खानीको उत्खनन गर्ने काम सरकार वाट गराउन सकिएको छैन, टालेगाउँको काइनेट पत्थरको उचित व्यवस्थापन गरेर जिल्लालाई फाइदा पुर्याउने काम गर्न सकिएको छैन, वारेकोट र कुशेका जङ्गलहरूमा पाइने विश्वको दुर्लभ रेडपान्डा संरक्षणको लागि गतिलो काम गर्न सकिएको छैन , सदरमुकाम खलङ्गाको पिउने पानीको मुख्य आधार वुदवुदीको जङ्गल र पानी मुहान जोगाउनको लागि केही उल्लेखनीय काम गर्न सकिएको छैन,गोरखाको मनकामनाको समानान्तर मन्दिरको रूपमा चिनिएको मछाइनाको मालिका मन्दिरको निर्माण र त्यस क्षेत्रको प्रवर्द्धन गर्ने गतिलो काम गर्न सकिएको छैन, पैंकको मष्टा, वारेकोटको ठाकुरजी, कुकुर दह, शंखदह, च्याखुरे पाटन सम्म गतिलो पहुच मार्ग निर्माण र त्यस क्षेत्रको प्रवर्द्धन र विकासको लागि गतिलो काम गर्न सकिएको छ्रैन, खलंगा वजारको पहिरो जोखिमलाइ रोक्न गतिलो ढल निकासको व्यवस्था गर्न सकिएको छैन, सुयडाको कालिका मन्दिर, जगतीपुरको वायु घट्ट, डिंगाको दिदी बहिनी झरना, दसेराको फाल्म गुफा, पजारुका चैत्य स्तूप देवलको उचित संरक्षण व्यवस्थापन र प्रवर्द्धनको लागि पनि केही गर्न सकिएको छैन । वारेकोटको कराइचुली हिमाल, कुशेको कुशे पाटन, भेरीको शिवालय मन्दिर क्षेत्र, नलगाडको खानटाकुरा, शिवालयको चिनीकम्द मेला, कुशेको धारपानी मेला, भेरीको रमाइलो मेला, वारेकोटको रामीडाडा मेलालाइ पनि गतिलो व्यवस्थापनका साथ आकर्षक मौलिक सम्पदा बनाउन केही पनि गर्न सकिएको छैन ।
जाजरकोटको समग्र विकासको लागि खटिनु पर्ने , चिन्तित हुनु पर्ने, दौडिनु पर्ने, सरकार र राज्यसङ लड्नु पर्ने त आखिर जाजरकोटीले नै त हो । केही जाजरकोटीहरु धेरै धनी छन् तर जाजरकोट गरिब छ , केही जाजरकोटीहरुले माथिल्लो तहको पद प्रतिष्ठा र जिम्मेवारी पाएका छन् तर जाजरकोट एक्लो अनि कमजोर छ । स्थानीय तहको निर्वाचन भएको ७ वर्ष पुरा भयो तर कुनै पनि स्थानीय तहले गौरव गर्न लायक यो काम गरेका छौँ भनेर भन्न सक्ने अवस्था जिल्ला भित्र वाट छैन । यस्तै जिल्ला बाहिर माथिल्लो स्थानमा रहेकाहरूले पनि जाजरकोटको स्वरूप बदल्न र जनताको अवस्था बदल्न यो काम उल्लेखनीय रूपले गरयौं भनेर भन्न सक्ने अवस्था पनि छैन । जाजरकोटका लागि जाजरकोटीहरु लड्न पनि चाहन्छन् । त्यसरी लड्न चहानेहरु सबै कमजोर र विपन्नहरू छन् । जाजरकोटको परिवर्तन र समृद्धिको लागि जाजरकोटवासीसंग निकै ठुलो सपना र भरभराउँदो हुटहुटी पनि छ तर त्यही हुटहुटी, त्यही सपना अनि त्यही सक्रियता तिनै जाजरकोटीको भोटले चुनाव जितेकाहरू र उच्च सरकारी पदमा पुगेकाहरूसँग हुन्थ्यो भने आज जाजरकोट भरि जाजरकोटीको माया फक्रिरहेको हुन्थ्यो ।
जाजरकोटका होनहार युवाहरूले आफ्नै गाउँमा रोजगारीका अवसरहरू पाइरहेका हुन्थे । बिदेसिँदै गएका सयौँ हजारौँ युवाहरू गाउँमै रोकिन्थे । विकास भनेको पानीका मूल पुर्ने अनि गाउँ बस्ती नै बाढी पहिरोको जोखिममा पार्ने गरि डोजरले बाटो खन्ने, हुँदा खादाको जङ्गल मास्ने, कनिका छरे जस्तो गरेर बजेट अनुत्पादक कार्यमा खर्च गर्ने, चालु खर्चलाई विकासको प्रगति मान्ने, उत्पादन तर्फ बजेट केन्द्रित गर्न गाह्रो मान्ने अनि बजेट तर्जुमा गर्दा जनताको आवाज भन्दा कार्यकर्ताहरूको चाकरी सुन्ने मात्र गरे कसरी जनताले देखेको सपना पुरा हुन्छ ? स्थानीय स्तरमा राजस्व सङ्कलनका मौलिक उपायहरु प्रयोग गर्न सकिने श्रोत र अवसर नजुटाउने, जिल्लाको पहिचानसँग सम्बन्धित संरचना र योजनाको निर्माणमा कुनै चासो नदिने अनि जनताको भन्दा कार्यकर्ताको आवश्यकता र मागलाई पहिलो प्राथमिकता दिएर बजेट र योजना छनोटमा सक्रियता देखाउँदै जाँदा समृद्ध जाजरकोट साँच्चिकै हाम्रै पालामा सम्भव होला त? राजनीतिमा आसा लाग्दो तरिकाले उदाएकाहरू, निजामती सेवामा गर्व गर्न लायक भएकाहरू, व्यापार, उद्योग र सामाजिक क्षेत्रमा अव्वल कहलिएकाहरू आफ्नो जिम्मेवारी वहनका क्रममा जाजरकोटलाइ कति पटक सम्झिन्छन् होला? जाजरकोट बदल्ने चिन्ता कति गर्छन् होला ? जाजरकोट छोडेर गए पनि जाजरकोटमै बसे पनि जाजरकोट वाट फाइदाको हिसाब मात्रै गरिरहँदा सम्म हाम्रो नियति अरूलाई सराप्ने र आफ्नो दुनो सोझ्याउने मात्रै हुने स्पष्ट छ ।
जाजरकोट दरबार वर्षाै देखि जीर्ण छ, भूकम्पले आधा बनाउँदा पनि कसैको आँखा लागेको छैन , मछाइनाको मालिका,पैंकको मष्टा, वारेकोटको रेडपान्डा, वारेकोटकै ठाकुरजी दल, शंख दह लगायतका भव्य अनि सुन्दर सम्पदाहरू ओझेल परेका छन् । खेतभरि चहार्ने गतिलो सिचाइ छैन, गाउँ बस्तीमा खानेपानीको गतिलो सुविधा छैन, गाउँ छोडेर बिदेसिन बाध्य युवाहरूलाई यतै अवसर दिएर रोक्ने कुनै उपाय छैन, गाउँ गाउँमा बढ्दै गएको भ्रष्टाचार अनियमितता र ठगी रोक्ने कुनै दमदार नेतृत्व छैन । जसले भ्रष्टाचारलाई वढवा दिन्छ, पक्षपात गर्छ, चाकरी गर्न सिपालु छ त्यो सत्ता शक्ति र जनता सबैको प्रिय हुने चलन बलियो बनाइसकेका छौँ । जाजरकोटका लागि केही पनि राम्रो काम गर्न कोही पनि जाजरकोटी अग्रसर भए साथ सहयोग र योगदान पाउन सजिलो छैन । सकारात्मक र सृजनात्मक सोच राखेर सहकार्य गरिदिनेहरू भेटाउन सारै गाह्रो छ । हामी समस्या देख्छौँ तर समाधान दिनका लागि अग्रसर हुँदैनौँ । हामी गाली आलोचना मात्रै गर्छौ तर आफ्नो तर्फबाट गर्ने भूमिकाका वेला पन्छिन मात्र जानेका छौँ । आफूले के गरेँ भनेर नसोच्ने तर अरूले यो गरेनन् उ गरेनन् भनेर कराउने कार्यमा हामीले राम्रो भूमिका निभाउन जानेका छौँ । यसको एउटै कारण हो सक्षम जाजरकोटीहरुले नै जाजरकोटलाइ माया नगर्नु अनि जाजरकोट प्रति अरूको मात्र कर्तव्य र दायित्व छ हाम्रो केही छैन भन्ने दरिद्र सोच राख्नु ।माथिल्लो तह र जिम्मेवारीमा रहेका जाजरकोटीहरु मात्र हैन जिल्लामै रहेका जाजरकोटीहरुले पनि साच्चिकै माया गरेको भए जाजरकोटमा केही उल्लेखनीय र दुनियालाइ देखाउन मिल्ने काम हुन्थ्यो । त्यसैले जाजरकोटीको नाम मात्र हैन जाजरकोट प्रतिको सपना र समर्पित भावना समेत पुरा गर्न इमानदार प्रयास अघि सारौँ । धन्यवाद ।
लेखक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन् ।