१२ श्रावण २०८१, शनिबार

जाजरकाेट भूकम्पपीडितको अझै पनि त्रिपालकै बास

केही पीडित जोखिम मोलेरै पनि चर्किएकै घरमा बस्न बाध्य

सराेज वली

जाजरकोट । भूकम्प गएको साढे दुई महिना हुनै लाग्दा पनि जाजरकोटमा ९ हजार ६ सय ३८ वटा मात्रै अस्थायी आवास निर्माण भएका छन् । संघ तथा स्थानीय सरकार, विभिन्न संघ-संस्था, तथा राजनीतिक दलका तर्फबाट उक्त आवास बनेका हुन् ।

सरकारले मंसिरभित्रै भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन पहिलो किस्ताको रकम वितरण गरिसक्ने भने पनि सबैले पाएका छैनन् । जाजरकोटमा मात्रै लाभग्राहीको संख्या ३५ हजार १ सय ४० कायम भएको छ । जसमा हालसम्म २७ हजार १३२ ले पहिलो किस्ताका लागि सम्बन्धित पालिकामा सम्झौता गरेका छन् । तीमध्ये जिल्लाका सातैवटा स्थानीय तहमा गरी २१ हजार ४ सय ४४ जनाले पहिलो किस्ताबापतको २५ हजार रुपैयाँ पाएका छन् । ८ हजार ८ जना लाभग्राहीसँग त सम्झौता हुनै बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिए ।

‘प्रोसिड्युरल कुराले पनि ढिला भएको अवस्था छ । हामीले लाभग्राहीको खातामा चाँडोभन्दा चाँडो पैसा पठाउनुपर्‍यो भनेर ताकेता गरिरहेका छौं,’ उनले भने ।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले आफूहरुले लाभग्राहीका खातामा २५ हजार रुपैयाँका दरले रकम पठाइसकेको बताउँछन् । उनी भन्छन्, ‘लाभग्राहीका खातामा २५ हजारका दरले पैसा पठाइसकेका छौं । अव अनुगमन गरेर दोस्रो किस्ता पठाउनमा सहजीकरण गर्छौं ।’

जिल्ला विपत् व्यवस्थापन समितिले पहिलो किस्ताबापतको ८४ करोड ९५ लाख ७५ हजार रुपैयाँ सम्बन्धित पालिकाको स्थानीय विपत् व्यवस्थापन खातामा पठाइसकेको छ । तर लाभग्राही पहिचानलगायत विषयमा स्थानीय तह गम्भीर नबन्दा कतिपय भूकम्पपीडितहरुमध्ये हिउँदमा पनि त्रिपालकै बासमा छन् भने केही जोखिम मोलेर चर्केकै घरमा फर्केका छन् ।

१ माघ २०८०, सोमबार १२:५४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्