१ आश्विन २०८१, मंगलवार

नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप प्रतियोगिता सुरू

कर्णाली अपडेट

जाजरकोट । भेरी नगरपालिकाको आयोजनामा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु भएको छ । भेरी नगरपालिका–१ रिम्नास्थित भेरी त्रिवेणी माविको खेलमैदानमा बुधबारदेखि नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंहले गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले विद्यालय स्तरका खेलकुद प्रतियोगिताले लुकेर रहेका खेल प्रतिभा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । शारीरिक र मानसिक स्वास्थ्यका लागि समेत खेलकुद अपरिहार्य भएको भन्दै उपप्रमुख सिंहले नगरपालिका भित्रका सबै माविहरुको सहभागिता रहेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका मेयर सिपी घर्तीले अनुशासित भएर आफ्नो खेल प्रतिभा प्रदर्शन गर्न खेलाडी विद्यार्थीहरुलाई आग्रह गरे । कराँतेका अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका मेयर घर्तीले अनुशासन खेलाडीहरुको पहिलो गुण रहेको बताए । प्रतियोगिता संचालनको कार्यविधि र नगरपालिकाले निर्धारण गरेको नीति अनुरुप प्रतियोगिता संचालन गर्न निर्देशन दिँदै मेयर घर्तीले मापदण्ड विपरित खेलाडी सहभागि गराएको पाइएमा निस्कासन गरिने बताए । पालिकाभित्रका विद्यार्थी खेलाडीहरु नगरबाट छनौट भएर जिल्ला स्तरिय प्रतियोगितामा सहभागि हुने भन्दै उनले जिल्लाबाट प्रदेश र केन्द्रसम्म पुग्नेगरी खेल प्रतिभा देखाउन खेलाडीहरुलाई आग्रह गरे ।

मेयर घर्तीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सिंह, नगर उपप्रमुख सिता जैसी, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु, नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव भरत शर्मा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सदस्य नरेन्द्रराज घर्ती लगायत विभिन्न विद्यालयका प्रधानध्यापक तथा व्यवस अध्यक्षहरुको सहभागिता रहेको थियो ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिनेछन । प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा नगरपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयका २ सय बढि विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा प्रेम केसीको नेतृत्वमा १० जना रेफ्रिहरु रहनेछन ।

१७ माघ २०८०, बुधबार २१:४० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्