१२ श्रावण २०८१, शनिबार

कर्णाली युवा प्रदेशको मुख्यमन्त्रीमा जाजरकोटका प्रेम

कर्णाली अपडेट

जाजरकोट । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जाजरकोटका प्रेम बहादुर वि क चयन भएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा सोमबार आयोजित नमुना युवा संसद अभ्यास कार्यक्रममा वि क मुख्यमन्त्रीमा चयन भएका हुन् । १८ गतेदेखी २२ सोमबार सम्म पाँच दिन सन्चालन भएको नमुना युवा संसद अभ्यासमा नगर सभा र प्रदेश सभाको बारेमा अभ्यास गरिएको थियो । उक्त कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिलाबाट २५ जना युवाहरुको सहभागिता रहेको थियो ।

नगर सभाको अभ्यास गर्दा चुनावी प्रक्रियाबाट नगर प्रमुख र नगर उप–प्रमुख निर्वाचित गरिएको थियो । त्यस्तै प्रदेश सभा सदस्यका लागि सत्ता पक्ष र प्रतिपक्षको वर्गिकरण गरिएको थियो । सत्तापक्षबाट मुख्यमन्त्री र मन्त्री मण्डलहरु विस्तार गरिएको थियो । सोही अनुरुप सत्तापक्षमा रहेका बिक मुख्यमन्त्री पदमा चयन भएका थिए ।

नमुना प्रदेश सभाले अभ्यासका रुपमा मुख्यमन्त्री सहित आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालय गरी ४ मन्त्रालय विस्तार गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा क्रमश सुनिता सार्की, दावत वि क, संगिता दमाई  मन्त्रीको पदमा चयन भएका थिए । त्यस्तै नमुना प्रदेश प्रमुखमा उर्मिला केएस र सभामुखमा जुम्लाकि अनिता नेपाली चयन भएका थिए ।

नमुना युवा प्रदेश सभामा वास्तविक प्रदेश सभामा जस्तै सभा चलाइएको थियो । शून्य समय, प्रश्नोत्तर समय र विशेष समयमा बोल्ने पनि अभ्यास गरिएको थियो । त्यस्तै वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख मार्फत प्रस्तुत गरिएको थियो भने वार्षिक राजश्व बाडफाड तथा बजेट विनियोजन आन्तरिक मामिला तथा योजना मन्त्री मार्फत प्रस्तुत गरिएको थियो । प्रदेश सभामा गरिने क्रियाकलापलाई नमुना युवा संसदहरुले अभ्यास गरेका थिए। नमुना युवा संसदहरुलाई प्रदेश सभाको बारेमा जानकारी गराउनका कर्णाली प्रदेश सभा सुर्खेतमा अनुगमनको लागि लगिएको आयोजक कमिटिका प्रतिनिधि रमेश नेपालीले जानकारी गराए ।

नमुना युवा संसद अभ्यासमा मुख्यमन्त्री बनेका बिकले सिकाइ अर्थपूर्ण रहेको बताएका थिए । “युवाहरुमा राजनीति प्रती वितृष्णा प्रकट गर्दछन। तर देशको नीति बदल्ने एक मात्र थलो राजनीति भएको कारण युवाहरुले राजनीतिमा चासो राख्नु पर्छ“,नमुना युवा प्रदेश मुख्यमन्त्री विकले बताएका थिए । यो कार्यक्रमले युवाहरुलाई राजनीति प्रती सचेत बनाउने भएका कारण निरंतरता दिन पनि अनुरोध गरेका थिए ।

दलित महिला संघको आयोजनामा सन्चालन गरेको कार्यक्रमलाई युरोपियन युनियनले आर्थिक सहयोग गरेको थियो भने प्लान इन्टरनेसनले प्राविधिक सहयोग र राष्ट्रिय युवा परिषदले समन्वय गरेको थियो। कार्यक्रमको उद्घाटनमा प्रदेश उप सभामुख माननीय यसोदा न्यौपाने र प्रदेश सभा सदस्य माननीय रणसिंह परियार र दलित महिला संघ कर्णालीको अध्यक्ष मन्जु सुनारको उपस्थिति रहेको थिय ।

त्यस्तै कार्यक्रमको समापनमा प्रदेश सभा सदस्य माननीय रणसिंह परियार,मुख्यमन्त्री सचिवालयका पौरख विश्वकर्मा, फेडो कालिकोट अध्यक्ष हजा सुनार,प्लान इन्टरनेसनलबाट कविता चापागाईं र फेडो जाजरकोटका अध्यक्ष पार्वती विकको उपस्थिति रहेको थियो । पाच दिनको तालिममा नेपालगन्जका प्रकाश उपाध्याय र काभ्रेका निर्मला गौतमले प्रशिक्षण दिएका थिए ।

२२ माघ २०८०, सोमबार २०:५५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्