२८ फाल्गुन २०८१, बुधबार

भेरी र नलगाडमा बाल अधिकार प्रवर्द्धन गर्दै समावेशी परियोजना

बालमैत्री शासन व्यवस्थापन, नीति निर्माण र प्रवर्द्धनमा जोड

कर्णाली अपडेट

जाजरकोट: जिल्लाका भेरी नगरपालिका र नलगाड नगरपालिकामा ५२८० बालबालिकालाई लक्षित गर्दै समावेशी गुणस्तरिय परियोजना तथा बाल स्पोन्सरशिप कार्यक्रम सञ्चालन भइरहेको छ। वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्चको साझेदारीमा तथा दुबै नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको यस परियोजनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण तथा समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

बाल स्पोन्सरशिप कार्यक्रम अन्तर्गत भेरी नगरपालिकाको वडा नं. ६ देखि १२ र नलगाड नगरपालिकाको वडा नं. १ देखि ७ मा कार्यक्रम सञ्चालन गरिएको छ। हालसम्म भेरी नगरपालिकामा ३ हजार २० बालबालिका तथा नलगाड नगरपालिकामा २ हजार २ सय ६० बालबालिका दर्ता भइसकेका छन्। बालबालिकाको समृद्धि सुनिश्चित गर्न भेरीमा टाइवान सपोर्ट अफिस र नलगाडमा अस्ट्रेलिया सपोर्ट अफिसले आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याउँदै आएका छन्। स्पोन्सरशिप कार्यक्रममा दर्ता भएका बालबालिकाहरु स्पोन्सरशिप बिजिनेस प्रक्रियाका प्रतिनिधिका रूपमा काम गर्ने गर्दछन्। यस कार्यक्रम अन्तर्गत दर्ता भएका प्रत्येक बालबालिका वरिपरि अन्य चार जना बालबालिकासँग मिलेर समृद्धिका लागि पहल गर्ने संरचना निर्माण गरिएको परियोजना संयोजक विरेन्द्र कुमार थारुले बताए।

यस परियोजनाले बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्ने उद्देश्यले विभिन्न महत्वपूर्ण कार्यहरू सञ्चालन गर्दै आएको छ। भेरी नगरपालिकाका १५ र नलगाड नगरपालिकाका १० विद्यालयमा यो परियोजनाले काम गरिरहेको संयोजक थारुले जानकारी दिए। विद्यालय सुधारका लागि शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धि तालिम, बालमैत्री विद्यालय भवन निर्माण तथा खानेपानी धारा निर्माणका साथै शिक्षण सिकाइको गुणस्तर सुधार्न आवश्यक सामग्री उपलब्ध गराइएका छन्। अध्ययन प्रक्रियालाई सहज बनाउन परियोजनाले कार्पेट, पी फर्म, राउन्ड टेबल, बुक र्‍याक तथा बालमैत्री सिकाइ सामाग्री विद्यालयमा उपलब्ध गराएको छ। पठन संस्कृतिको अभिवृद्धि गर्न भेरीमा ५० तथा नलगाडमा ३० गरी ८० वटा पढाइ शिविर सञ्चालन गरिएको छ।

बालबालिकाको स्वास्थ्य सुनिश्चित गर्न परियोजनाले प्रारम्भिक स्वास्थ्य शिविर तथा अपाङ्गता पहिचान शिविर सञ्चालन गर्दै आएको छ। साथै, बाल संरक्षण तथा बाल समृद्धिमा जोड दिँदै बाल क्लब गठन, बालसम्बन्धी योजना तथा नीति निर्माणका लागि आवश्यक प्राविधिक सहयोग पुर्‍याइएको छ। बालमैत्री स्थानीय शासन अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारसँग सहकार्य गर्दै परियोजनाले बाल अधिकार प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ।

स्थानीय तहमा बालबालिकाका लागि शिक्षादेखि स्वास्थ्यसम्मका अवसरहरु सुनिश्चित गर्न यो परियोजना प्रभावकारी बन्दै गएको छ। शिक्षा, स्वास्थ्य तथा बाल संरक्षणका क्षेत्रमा यस परियोजनाले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवी पन्तको भनाई छ ।

२७ माघ २०८१, आईतवार ०८:५१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्