१३ बैशाख २०८२, शनिबार

घरदैलोमै स्वास्थ्य सेवा: लोकतन्त्र दिवसको अवसरमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न

कर्णाली अपडेट

जाजरकोट। लोकतन्त्र दिवस २०८१ को अवसरमा कुशे गाउँपालिकाको आर्थिक सहयोगमा तथा नेपाल रेडक्रस सोसाइटी, आँखा अस्पताल सुर्खेत र जाजरकोटको सहकार्यमा कुशे गाउँपालिकाभित्र दुई दिने बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। वैशाख १० र ११ गते सञ्चालन हुने उक्त शिविरमा करिब ५ सय बढी स्थानीय बासिन्दाहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको छ ।

स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउनु लोकतन्त्रले जनतालाई दिएको अधिकारको प्रत्यक्ष अभ्यास भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भने- “यस प्रकारका सेवा गाउँपालिकाको प्राथमिकता रहेका छन् । नागरिकको जीवनस्तर सुधार गर्न यस्ता कार्यक्रमहरू निरन्तर रुपमा भविष्यमा पनि सञ्चालन गरिनेछ ।

शिविरमा आँखा, कान र घाँटीको परीक्षण, अपाङ्गता परिचपत्र वितरण, औषधि वितरण तथा स्वास्थ्य परामर्श लगायतका सेवा समावेश गरिएका छन् । जसमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायको उल्लेख्य सहभागिता रहेको छ । साथै शिविरमा उपचार संभव नभएका बिरामीहरुलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गरिने अध्यक्ष बस्नेतले जानकारी दिए ।

कार्यक्रमको समन्वय नेपाल रेडक्रस सोसाइटी, स्थानीय स्वास्थ्य संस्था र स्वयंसेवकहरूको सहयोगमा गरिएको थियो । शिविरले नजिकबाट सेवा लिन पाएका स्थानीय नागरिकहरूमा स्वास्थ्यप्रति जागरुकता अभिवृद्धि गर्नुका साथै, सेवा पहुँच अभावको महसुस हटाउने कार्यमा सहयोग पु-याएको विश्वास गरिएको छ । शिविरको उद्घाटन अध्यक्ष बस्नेतले गरेका थिए ।

११ बैशाख २०८२, बिहीबार १२:२६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्