जाजरकोट । नेपाल स्वंयमसेवी रक्तदाता समाज जाजरकोटको अध्यक्षमा प्रेम वली सर्वसम्मत चयन भएका छन् । शुक्रबार जिल्ला सदरमुकाम खलंगामा आयोजित रक्तदाताको भेलाबाट प्रेम वलीलाई अध्यक्षमा सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
भेलाले नेपाल स्वंयमसेवी रक्तदाता समाज जाजरकोटको उपाध्यक्षमा प्रतिक परियार, सचिवमा प्रेमबहादुर विक, सह–सचिवमा निराज सिंह र कोषाध्यक्षमा जुनु परियारलाइ सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा अर्जुन शाही, जयबहादुर चन्द, विवश विक्रम शाह लगायत नौ जनालाइ भेलाले चयन गरेको अध्यक्ष वलीले जानकारी दिए ।
नेपाल स्वंयमसेवी रक्तदाता समाज जाजरकोटको बरिष्ठ सल्लाहकारमा जिल्ला अस्पताल, रेडक्रस सोसाइटी, मालिका सामुदायिक केन्द्र र लाइन्स क्लबका प्रतिनिधिहरूलाई समावेश गरिएको छ । साथै, सल्लाहकारहरूमा मुकुन्द प्रसाद शर्मा, खम्बजंग शाह, सोजन शाक्य, अनिश कुमार कार्की, कालीबहादुर नेपाली, धर्मशिला बस्नेत र सहदेव बस्नेत रहेका छन् ।
नव–निर्वाचित अध्यक्ष वलीका अनुसार, जिल्लामा रगत अभावका कारण कोही कसैले पनि ज्यान गुमाउनु पर्ने अबस्थाको अन्त्य गर्ने उदेश्यका साथ कार्यसमिति सक्रिय हुने छ । “हामीले रगत अभाव हुन नदिने गरी नियमित रक्तदान कार्यक्रम, सचेतनामूलक अभियान संचालन गर्नुको साथै आवश्यकता परेको बेलामा आपतकालीन रगत व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिनेछौं ।” अध्यक्ष वलीले भने, “ कार्यसमितिले आगामी दिनमा विभिन्न संघ–संस्था, सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गरी रक्तदान संस्कृतिको प्रवद्र्धन गर्ने छ ।”
नेपाल स्वंयमसेवी रक्तदाता समाज जाजरकोटका पूर्वअध्यक्ष सोजन शाक्यको कार्यकाल समाप्त भएपछि नयाँ कार्यसमिति गठनको लागि भेलाको आयोजना गरिएको थियो ।