२४ चैत्र २०८१, सोमबार

सत्ता लम्ब्याउने खेलमा सरकार, सुशासन र रोजगारीको बेवास्ता : घनश्याम भुसाल

सराेज वली

जाजरकोट । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव घनश्याम भुसालले गणतन्त्रमा अहिले वास्तविक एजेन्डा हराएको आरोप लगाउँदै, सरकार सुशासन र रोजगारजस्ता महत्वपूर्ण मुद्दामा ध्यान नदिई सत्ता लम्ब्याउने खेलमा लागेको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) जाजरकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र सुशासन जस्ता विषयलाई प्राथमिकतामा नराखी सत्तामै टिकिरहने रणनीतिमा लागेको बताए। “जनताका लागि खाँचो भएको मुख्य कुरा रोजगारी र सुशासन हो, तर सरकार यी विषयलाई बेवास्ता गर्दैछ।”

भुसालले नेकपा (एकीकृत समाजवादी) ले सुशासन र रोजगारीको मुद्दालाई मुख्य एजेन्डा बनाएर लामो आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए। “हामी अब चुप लागेर बस्दैनौं। गणतन्त्रको मर्मअनुसार सरकार चलाउन दबाब दिन्छौं।” उनले भने, सरकार कमजोर हुँदा जनता आक्रोशित बन्दै गएका छन्। “सडकमा उठेका आवाजहरू अहिले आक्रोशमा परिणत हुँदैछन्। यही मौकामा राजावादी शक्तिहरू सक्रिय भइरहेका छन्,” उनले भने, १५ गते राजधानीमा भएको प्रदर्शनको उदाहरण दिँदै, सरकारको असफलताले राजावादीहरूलाई बल पुगेको बताए ।

उनले ‘मिसन ८४’ को चर्चा गर्दै गणतन्त्रलाई संस्थागत गर्ने मुख्य चुनौती अहिलेको सरकारलाई जिम्मेवार बनाउनु हो भने। “यदि सरकार गलत बाटोमै अघि बढिरह्यो भने हामी देशभर संघर्षका कार्यक्रम अगाडि बढाउनेछौं,” भुसालले चेतावनी दिए।

देशमा भ्रष्टाचार, बेरोजगारी, र कुशासन प्रमुख समस्या बनेका छन्। तर सरकार यी समस्या हल गर्नेतर्फ लाग्नुभन्दा सत्ता लम्ब्याउने रणनीतिमा मात्र केन्द्रित रहेको भन्दै भुसालले लामो संघर्षको तयारी गरिएको स्पष्ट पारे।

२४ चैत्र २०८१, सोमबार १५:१० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्