जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासनका लागि तोकिएका सम्पूर्ण सूचकहरू सफलतापूर्वक पूरा गरेपछि वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य खड्क बिसीको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उहाँले बालबालिकाको हक, अधिकार, संरक्षण र सहभागिता सुनिश्चित गर्न स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेकाे बताउनु भयाे। साथै बालमैत्री वातावरण निर्माणले समग्र समाजको दिगो विकासमा टेवा पुर्याउने बताउनुभयो।
वडाध्यक्ष तथा वडा प्रतिनिधिहरूले बालमैत्री स्थानीय शासनलाई व्यवहारमा लागू गर्न शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताका क्षेत्रमा निरन्तर काम गर्दै आएको र भविष्यमा पनि बालबालिकाको उज्ज्वल भविष्यका लागि कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने बताएका थिए ।
स्थानीय समुदाय, अभिभावक तथा सरोकारवालाहरूको सक्रिय सहभागितामा वडा नं. १३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हाे।















