रसुवा/नुवाकोट। सामुदायिक विकास केन्द्र नेपाल (सीडीसी नेपाल) र नेपाल सहायता फाउन्डेसनको सहकार्यमा बाढीबाट प्रभावित २०० गर्भवती तथा स्तनपान गराउने महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ। रसुवा र नुवाकोट जिल्लाका प्रभावित महिलालाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

दसैँको अवसरमा आयोजित यस कार्यक्रमले विपद्पछि कठिन परिस्थितिमा रहेका गर्भवती तथा स्तनपान गराउने आमाहरूको पोषण आवश्यकतामा सहयोग पुर्याउनुका साथै परिवारको दैनिक खाद्यान्न व्यवस्थापनमा केही राहत दिने उद्देश्य राखेको थियो।
कार्यक्रममा नेपाल सहायता फाउन्डेसनले सहयोगी साझेदारका रूपमा आवश्यक सहयोग उपलब्ध गराएको थियो भने सीडीसी नेपालले कार्यान्वयन साझेदारका रूपमा स्थानीय समन्वय तथा वितरणको जिम्मेवारी निर्वाह गरेको थियो। दुवै संस्थाको संयुक्त प्रयासबाट प्रभावित महिलासम्म पोषण खाद्य प्याकेज पुर्याइएको हो।

बाढीका कारण जनजीवन प्रभावित हुँदा गर्भवती तथा स्तनपान गराउने महिलालाई पर्याप्त र पोषणयुक्त खानाको व्यवस्था गर्न थप कठिनाइ हुने गर्दछ। यही आवश्यकतालाई ध्यानमा राख्दै यस पहलले आमा र शिशुको स्वास्थ्य तथा पोषणलाई प्राथमिकता दिएको हो।
नेपाल सहायता फाउन्डेसन र सीडीसी नेपालको यस सहकार्यले विपद्पछिको पुनःस्थापनामा मातृ तथा शिशु पोषणको महत्त्वलाई उजागर गरेको छ। चाडपर्वका बेला उपलब्ध गराइएको यस सहयोगले प्रभावित आमाहरू र उनीहरूका परिवारलाई राहत प्रदान गर्नुका साथै साथ र अपनत्वको अनुभूति दिलाउने उद्देश्य राखेको छ।











