जाजरकोट । कुशे गाउँपालिकाको समग्र विकास, नागरिकका आधारभूत आवश्यकता र दीर्घकालीन समृद्धिका सवाललाई साझा प्राथमिकतामा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुशे गाउँपालिका कार्यसमितिले संगठन सुदृढीकरणसँगै पाँचवर्षे विकास दृष्टिकोण निर्माण गर्ने निर्णय गरेको छ ।
२०८३ कार्तिक १८ गते सम्पन्न गाउँपालिका कार्यसमितिको बैठक तथा भेलाले नागरिकसँगको सम्बन्ध विस्तार, स्थानीय विकासका आवश्यकता पहिचान, सुशासन र जवाफदेहितालाई प्राथमिकतामा राख्दै विभिन्न निर्णयहरू पारित गरेको हो ।
कार्यक्रममा युवा, बुद्धिजीवी, समाजसेवी, ज्येष्ठ नागरिक, पार्टीका पदाधिकारी, समर्थक तथा शुभेच्छुक गरी ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता रास्वपा कुशे गाउँपालिका सभापति डिल्लीबहादुर सिंहले गरेका थिए ।
कार्यक्रमको अवसरमा सभापति सिंहले पार्टी कार्यालयको उद्घाटन गरेका थिए। उद्घाटनपछि गाउँपालिका कार्यसमितिका उपसभापति नरबहादुर शाहीले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।
सभापति सिंहले पार्टी कार्यालयलाई केवल संगठनात्मक गतिविधि सञ्चालन गर्ने स्थानमा सीमित नराखी आम नागरिकका समस्या, गुनासा, सुझाव र विकासका अपेक्षा राख्ने साझा सम्पर्क केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए। उनले कुशेको समृद्धिका लागि सबै राजनीतिक विचार, सामाजिक क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नागरिकको विश्वास जित्ने आधार इमानदारिता, पारदर्शिता, जिम्मेवारी र परिणाममुखी काम हुनुपर्नेमा जोड दिएका थिए ।
उपसभापति नरबहादुर शाहीले संगठनलाई बलियो बनाउन आपसी एकता, सहकार्य र सक्रियता आवश्यक रहेको बताउँदै पार्टीलाई आम नागरिकको विश्वास र भरोसाको केन्द्र बनाउन सबैको सहभागिता महत्वपूर्ण हुने धारणा राखेका थिए ।
यसै अवसरमा कुशे गाउँपालिकाको सभाहलमा संगठनात्मक तथा विकाससम्बन्धी प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका जेन्जी अभियन्ताका सहसंयोजक तथा रास्वपा कुशेका सभापति मोहन विक्रम शाहीको समेत उपस्थिति रहेको थियो । उनले युवा पुस्ताको सक्रियता, नयाँ राजनीतिक सोच, सुशासन र नागरिकको सहभागितालाई जोड दिँदै कुशेको विकास र सकारात्मक परिवर्तनका लागि युवाहरू विचार, क्षमता र जिम्मेवारीसहित अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
त्यसैगरी पार्टी समर्थक तथा युवा नेता चन्द्र शाहले कुशेको विकास र राजनीतिक परिवर्तनका लागि युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवाहरू केवल परिवर्तनको अपेक्षा गर्ने मात्र नभई सकारात्मक परिवर्तनका संवाहक र नेतृत्वकर्ता बन्नुपर्नेमा जोड दिएका थिए ।
SMART कुशे : पाँच वर्षे विकासको स्पष्ट साझा दृष्टिकोण
प्रशिक्षण कार्यक्रमको मुख्य विषय ‘जान्नेलाई छान्ने’ र ‘SMART कुशे – पाँच वर्षे विकासको स्पष्ट साझा दृष्टिकोण’ रहेको थियो। यस अवधारणाले कुशेको विकासलाई कुनै एक राजनीतिक दल वा व्यक्तिको एजेन्डाका रूपमा नभई नागरिकका आवश्यकता, स्थानीय सम्भावना र सामूहिक प्राथमिकतामा आधारित साझा विकास दृष्टिकोणका रूपमा अघि बढाउने सोच प्रस्तुत गरेको छ ।
छलफलमा कुशेको विकासका लागि के गर्ने, किन गर्ने, कसरी गर्ने, आवश्यक स्रोत कहाँबाट जुटाउने र निर्धारित समयभित्र अपेक्षित परिणाम कसरी हासिल गर्ने भन्ने विषयलाई प्राथमिकता दिइएको थियो । विकासका योजना छनोट गर्दा नागरिकको वास्तविक आवश्यकता, उपलब्ध स्रोतसाधन, सम्भाव्यता, समावेशिता र दीर्घकालीन प्रतिफललाई आधार बनाउनुपर्नेमा जोड दिइएको थियो ।
प्रशिक्षण तथा छलफलमा कुशेका प्रमुख विकास आवश्यकता र नागरिकका अपेक्षालाई समेट्दै निम्न विषयहरू प्राथमिकताका साथ उठाइएका थिए ।
• सुरक्षित आवास: भूकम्प प्रभावित परिवारका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था ।
• भूमि तथा आवास अधिकार: भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई जग्गाको स्वामित्व र सुरक्षित आवासको व्यवस्था ।
• डिजिटल पहुँच: गाउँपालिकाका सबै बस्तीमा २४ घण्टा भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा विस्तार ।
• स्वास्थ्य सेवा: सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाका लागि प्रसूति गृहको स्थापना तथा सञ्चालन ।
• पर्यटन विकास: पैंक–काफल्ला मष्टा–कुशे पाटनलाई जोडेर एकीकृत पर्यटन सर्किटको विकास ।
• बहुवर्षीय आयोजना: टुक्रे योजनाभन्दा दीर्घकालीन प्रतिफल दिने बहुवर्षीय विकास आयोजनालाई प्राथमिकता ।
• कृषि तथा स्थानीय उत्पादन: कुशेको सुन्तला र रैथाने बालीको उत्पादन वृद्धि, प्रशोधन, बजारीकरण तथा ब्रान्डिङ ।
• सडक पूर्वाधार: सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउने गरी दिगो पूर्वाधार विकास ।
• सरकारी, गैरसरकारी र विभिन्न प्राधिकरणहरूसँग समन्वय: स्थानीय आवश्यकताका योजनाहरू कार्यान्वयनका लागि संघीय, प्रदेश सरकार, गैरसरकारी र विभिन्न प्राधिकरणहरूसँग सँग नियमित पहल, समन्वय र फलोअप ।
छलफलमा विकासका योजना छनोट गर्दा पहुँच र प्रभावका आधारमा नभई आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने, नागरिकलाई योजनाको छनोटदेखि कार्यान्वयन र अनुगमनसम्म सहभागी गराउनुपर्ने तथा सार्वजनिक स्रोतको अधिकतम सदुपयोग सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाइएको थियो ।
संगठन सुदृढीकरण र आगामी कार्यदिशाका समवन्धमा १३ बुँदे निर्णय र कार्ययोजना
बैठक तथा भेलाले रास्वपाको संगठनलाई गाउँपालिकाका नौवटै वडा तथा टोलस्तरसम्म सक्रिय र व्यवस्थित बनाउने उद्देश्येले १३ बुँदे निर्णय र कार्ययोजना तयार गरेको छ । आगामी मंसिर १० गतेभित्र प्रत्येक वडामा संगठनात्मक प्रशिक्षण सञ्चालन गरी नयाँ कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्ने, वडा तथा टोलस्तरमा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने र प्रत्येक वडामा नागरिक संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी प्रत्येक वडा समितिले आफ्ना वडाका तीनवटा प्रमुख तथा अत्यावश्यक विकास निर्माणका आवश्यकता र समस्या पहिचान गरी मंसिर १० गतेभित्र गाउँपालिका समितिमा पठाउने निर्णय गरेको छ। प्राप्त सुझाव तथा आवश्यकताका आधारमा आगामी पुस मसान्तभित्र कुशेको पाँचवर्षे विकास दृष्टिकोण तयार गर्ने लक्ष्य राखिएको छ ।
बैठकले युवा सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने, गाउँपालिकामा पार्टी कार्यालय तथा संगठनात्मक व्यवस्थापनलाई व्यवस्थित गर्ने, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापनका लागि जिम्मेवार व्यक्ति तोक्ने र संगठनका गतिविधिको नियमित मासिक समीक्षा गर्ने निर्णयसमेत गरेको छ ।
महिला, युवा, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा सबै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र आर्थिक कारोबारलाई पारदर्शी तथा व्यवस्थित बनाउने विषयलाई पनि विशेष प्राथमिकता दिइएको छ। साथै आगामी स्थानीय तह निर्वाचन २०८४ लाई मध्यनजर गर्दै मंसिर १० गतेभित्र प्रारम्भिक कार्ययोजना निर्माण गर्ने निर्णय गरिएको छ ।
कार्यक्रमले कुशेको विकास कुनै एक व्यक्ति, समूह वा राजनीतिक दलको एकल प्रयासबाट मात्र सम्भव नहुने निष्कर्षसहित नागरिक, राजनीतिक दल, बुद्धिजीवी, युवा, समाजसेवी तथा सरोकारवाला सबै पक्षबीच सहकार्य र साझा प्रतिबद्धताको आवश्यकता औँल्याएको छ ।
कुशेको विकासमा योजना मात्र होइन, परिणाम महत्वपूर्ण हुन्छ। नागरिकका आवश्यकता पहिचान गर्ने, प्राथमिकता निर्धारण गर्ने, स्रोत व्यवस्थापन गर्ने, समयसीमाभित्र योजना कार्यान्वयन गर्ने र प्राप्त परिणामको सार्वजनिक समीक्षा गर्ने पद्धति नै SMART कुशेको मूल मर्मका रूपमा अघि सारिएको छ ।
यस अवधारणाले कुशेको आगामी पाँच वर्षलाई स्पष्ट लक्ष्य, मापनयोग्य उपलब्धि, पारदर्शी कार्यान्वयन र नागरिकप्रतिको जवाफदेहितासँग जोड्ने अपेक्षा गरिएको छ ।










