३ मंसिर २०८३, बुधबार

बौलाह खोलामा आएको बाढीका कारण भेरी करिडोर अवरुद्ध

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाका १ र २ वडाको बीचमा पर्ने बौलाह खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। साथै, बाढीले घरटहरा तथा व्यापारिक संरचनामा पनि क्षति पुर्‍याएको छ।

आइतबार रातिको अविरल वर्षापछि आएको बाढीले नलगाड नगरपालिका–१ बैरीतालमा बसोबास तथा व्यापार गर्दै आएका स्थानीयका अस्थायी घरटहरा बगाएको हो। बाढीका कारण भेरी करिडोरको जाजरकोट–डोल्पा सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएपछि डोल्पातर्फको यातायात प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन आवतजावतमा समस्या भएको छ।बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

बाढीले मानबहादुर विकको तीन कोठे अस्थायी टहरा, बविता महराको अस्थायी टहरा तथा किराना पसल, कृष्ण महराको एक कोठे टहरा, बलबहादुर विकको किराना पसल रहेको टहरा र नन्दे महरको कपडा पेल्ने मेसिनसहितको टहरा बगाएको हो।

त्यस्तै, मेघराज कुमाईको बोइलर कुखुराको दाना राख्ने टहरा पूर्णरूपमा क्षतिग्रस्त भएको छ। जनक भण्डारीको अस्थायी टहरामा सञ्चालित फ्रेस हाउस पनि बाढीले बगाएको छ। फ्रेस हाउसमा रहेका करिब एक सय वटा बोइलर कुखुरा समेत बगेर नष्ट भएका छन्।

दले कामीको किराना पसलमा हिलो र पानी पसेर आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। छवि महरको भे १ ह २६३३ नम्बरको अटो हिलोपानीले पुरिएर आंशिक क्षति भएको छ भने हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्र्याक्टरसमेत माटोले पुरिएर क्षतिग्रस्त भएको छ। नलगाड नगरपालिका–२ का सत्यदेव चनाराको पानीघट्टसमेत बाढीले बगाएको छ।

घटनाबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरी निरीक्षक सुमन गैरेले जानकारी दिए । बाढीपछि प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो।

२९ भाद्र २०८३, सोमबार ११:२२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्