४ मंसिर २०८३, बिहीबार

चाडपर्वको सुरक्षामा जाजरकोट प्रहरी, ४०६ जनशक्ति परिचालन

कर्णाली अपडेट

जाजरकोट । नेपालीका प्रमुख चाडपर्व विजया दशमी, शुभदीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले ४०६ जना जनशक्ति परिचालन गरेको छ।

चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने तथा सार्वजनिक स्थानमा शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो।

चाडपर्वको समयमा बजार क्षेत्रमा मानिसको चहलपहल बढ्ने, किनमेलका लागि सर्वसाधारणको आवतजावत बाक्लिने तथा रोजगारी र अध्ययनका सिलसिलामा बाहिर रहेका नागरिक घर फर्किने भएकाले सुरक्षा चुनौतीसमेत बढ्न सक्ने प्रहरीको आकलन छ। यही अवस्थालाई मध्यनजर गर्दै प्रहरीले जिल्लाका विभिन्न स्थानमा जनशक्ति परिचालन गरी सुरक्षा निगरानी बढाएको हो।

चाडपर्वका बेला घर छाडेर बाहिर जाने परिवारका घरमा चोरी हुन सक्ने, बजार तथा भीडभाडमा पकेटमारी र ठगीका घटना हुन सक्ने तथा मादक पदार्थ सेवनका कारण झैझगडा र घरेलु हिंसाका घटना बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ। सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुसँग बढी भाडा असुल्ने तथा लापरबाहीपूर्ण रूपमा सवारी चलाउने गतिविधिप्रति पनि निगरानी गरिने पुरीले बताउनुभयो ।

प्रहरीले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन सुरक्षा व्यवस्थासँगै सर्वसाधारणको सहयोगलाई पनि महत्त्व दिएको छ। कुनै शङ्कास्पद गतिविधि देखिएमा, ठगी वा दुर्व्यवहारमा परेमा तथा शान्ति सुरक्षासम्बन्धी समस्या आएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।

२५ आश्विन २०८३, आईतवार २१:२८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्