जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा नवराज शाहीको नेतृत्वमा ११ सदस्यीय पालिकास्तरीय भलिबल संघ गठन गरिएको छ। कुशे गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष निम बहादुर शाहीको अध्यक्षता एवं जिल्ला भलिबल संघ जाजरकोटका पूर्व अध्यक्ष गणेश बहादुर विष्टको रोहवरमा भदौ ८ गते सम्पन्न सर्वपक्षीय भेलाले उक्त नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका शाहीको नेतृत्वमा गठित संघको उपाध्यक्षमा दिपेन्द्र रोकाया, महासचिवमा बिक्रम सिंह र कोषाध्यक्षमा मनिषा शाही चयन हुनुभएको छ। त्यस्तै कार्यसमितिका सदस्यहरूमा जनक चन्द, गगन शाही, किशोर शाही, अनिल रोकाया, तिर्सना बस्नेत र गोपाल शाही रहनुभएको छ।
स्थानीय खेलकुदप्रेमी, जनप्रतिनिधि तथा खेलाडीहरूसहित २६ जनाको सहभागिता रहेको उक्त भेलाले जिल्ला अधिवेशनका लागि कुशे गाउँपालिका वडा नं. २ का पूर्व भलिबल खेलाडी महेन्द्र बहादुर शाहीलाई सर्वसम्मत रूपमा जिल्ला प्रतिनिधि छनोट गर्ने निर्णय समेत गरेको छ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष नवराज शाहीले पालिकाभित्र लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कुशे गाउँपालिकामा भलिबल खेलको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उहाँले गाउँ-गाउँबाट नयाँ खेलाडी पहिचान गरी उनीहरूलाई उच्च स्तरको प्रशिक्षण र उचित अवसर प्रदान गर्न आफ्नो टोली सक्रिय रहने बताउनुभयो।
साथै, स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अब उप्रान्त पालिकाभित्र आयोजना हुने भलिबल प्रतियोगिताहरू संघकै मातहतमा व्यवस्थित रूपमा सञ्चालन गरिने धारणा उहाँले राख्नुभयो।










