४ मंसिर २०८३, बिहीबार

६२ सूचक पूरा गर्दै भेरी–९ बालमैत्री वडा घोषणा

कर्णाली अपडेट

जाजरकोट । भेरी नगरपालिका–९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेका ५१ वटा र स्थानीय सरकारले तय गरेका ११ वटा गरी कुल ६२ वटा सूचक पूरा गरेपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।

आइतबार आयोजित औपचारिक कार्यक्रमका बीच वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र वल्ड भिजन इन्टरनेसनलको साझेदारी तथा भेरी नगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बालबालिका मानव जीवनको आधारभूत जग भएको बताए । बालबालिकामा आज गरिएको लगानीले नै भोलिको समाज निर्माण गर्ने भएकाले उनीहरूको शिक्षा, स्वास्थ्य, संरक्षण, विकास र सहभागितामा लगानी बढाउनुपर्ने उनले बताए ।

‘मानव जीवनको आधारभूत फाउन्डेसन भनेको बालबालिका हुन् । जब हामीले बालबालिकामा लगानी गर्दैनौँ, तब बालमैत्री वडा र बालमैत्री समाज बन्दैन । बालबालिकामा गरिएको लगानी खेर जान नदिन सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ,’ नगर प्रमुख घर्तीले भने ।

बालमैत्री वडा घोषणाका लागि बालबालिकाको जन्मदर्ता, शिक्षा, स्वास्थ्य तथा पोषण, बाल संरक्षण, बाल सहभागिता, खानेपानी तथा सरसफाइलगायतका क्षेत्रमा तोकिएका सूचक पूरा गरिएको जनाइएको छ । बालविवाह, बालश्रम, हिंसा तथा बालबालिकामाथि हुने विभिन्न प्रकारका विभेद न्यूनीकरणका विषयलाई समेत बालमैत्री अभ्याससँग जोडिएको छ ।

कार्यक्रममा बोल्दै भेरी नगरपालिकाकी उपप्रमुख सीता जैसीले बालमैत्री वडा घोषणा कार्यक्रम घोषणामै सीमित हुन नहुने बताइन् । घोषणा गरिएका सूचकको अवस्था आगामी दिनमा पनि कायम रहे/नरहेको नियमित रूपमा अनुगमन गर्नुपर्ने उनको भनाइ थियो ।

उनले घोषणा पछिका चुनौती पहिचान गरी त्यसको प्रभावकारी समाधानका लागि नगरपालिका, वडा, विद्यालय, अभिभावक, बालबालिका र सम्बन्धित संघसंस्थाबीच निरन्तर सहकार्य आवश्यक रहेको बताइन् । बालमैत्री वडा घोषणा गरेपछि बालबालिकाको वास्तविक अवस्था सुधार भएको छ कि छैन भन्ने विषयलाई प्राथमिकतामा राखेर अनुगमन गर्नुपर्ने उनले बताइन् ।

‘बालमैत्री वडा घोषणा गरेर मात्र हाम्रो जिम्मेवारी पूरा हुँदैन । घोषणा पछिका चुनौती के छन् भनेर पहिचान गर्नुपर्छ । ती चुनौती समाधान गर्न निरन्तर अनुगमन र प्रभावकारी काम आवश्यक छ,’ उपप्रमुख जैसीले भनिन् ।

भेरी नगरपालिकाले यसअघि वडा नं. ८ लाई पनि बालमैत्री वडा घोषणा गरिसकेको छ । वडा नं. ९ समेत बालमैत्री घोषणा भएसँगै नगरपालिकामा बालमैत्री अभ्यास विस्तार हुँदै गएको छ ।

४ आश्विन २०८३, आईतवार २१:५१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्