मैले आफ्नो जन्मथलोको माटो छोडेको धेरै भयो। घट्टे खोलामा पौडी खेल्दै, गोठाला गर्दै, उकाली–ओराली गर्दै बाल्यकाल बित्यो।
म बाल्यकालको त्यो रमाइला पलहरूलाई बिचैमा बिट मार्दै ठुलो मान्छे बन्ने सपना बोकेर सहर पसेपछि थाह पाएँ, मेरो जन्मथलोको नाम सुन्ने बित्तिकै अधिकांश मानिसहरू ‘ओहो! त्यो दुर्गम ठाउँ’ भन्दै ओठ टोक्ने रहेछन्।
धेरैले जाजरकोट भनेपछि झाडापखाला, रोग, भोक, भूकम्प मात्र सम्झने रहेछन्। हैन, यहाँ सपनाहरू पनि छन्। जिन्दगी बाँच्ने संघर्ष छ।
शिरमा भारी बोकेर पहाड चढ्ने मेरी आमा थकाइ मारेर भन्थिन्, ‘छोरा, त्यो सपनाको सहरमा कसैबाट नहेपिनु है!’ उनले किन यस्तो भन्थिन्, मैले धेरै समयसम्म बुझिनँ।
सहरमा छिरेको केही समयमा एक दिन साथीहरूसँग चिया पसलमा थिएँ। कुरै कुरामा मेरो जन्मथलोको कुरा आयो। एक जनाले हाँस्दै भन्यो, ‘त्यो जाजरकोट भनेको भूकम्पले तहसनहस पारेको ठाउँ होइन र ? उता त अस्पताल पनि पुग्दैनन् रे!’
उसको शब्दले मन अमिलो भयो। म शब्द विहीन भएँ। हो, यहाँ भूकम्पले घर भत्कायो, भूकम्पले भत्काएको केवल घर थिएन, भत्किएको थियो—पुर्खाले जोडेको सपना, आस्थाले टिकाएको आँगन र छानामुनिको सुरक्षा भाव।
एकाएक रातको निद्रामा भुईँ हल्लिन थाल्यो अनि छिनमै जिन्दगीले अर्को रूप देखायो— कसैले आमालाई गुमायो, कसैले सन्तानलाई, कसैले त आफ्नै भविष्य गुमायो। ती हातहरू जो हिजोसम्म हलो समाइरहेका थिए, आज ढुङ्गा समाएर भग्न घरको मुन्डेरी पल्टाइरहेका छन्।
रोगले कयौँ बाबु–आमाका काख रित्तो बनायो। तर यही माटोमा खुट्टा रोपेर जिउन सिकेका मान्छेहरू छन्। भत्किएको गाउँ उठाउने अठोट गरेका हातहरू छन्।
कसैले सहरको उज्यालोमा बसेर हाम्रो अन्धकार मात्र देख्न खोज्छ तर हाम्रा आँखामा देखिएको आशाको उज्यालो देख्दैनन्। हामी भूगोलको कारण पछि परेका छौँ होला, हाम्रो सोच पछि छ होला तर हामी जन्मेको माटोको कुनै दोष छैन।
जाजरकोटलाई ‘पछाडि परेको’ भनेर हेप्नेहरूलाई थाहा छैन— यहाँका चिल्ला हातहरूले होइन, माटोले रङ्गिएका औँलाले भोक मेट्छन्। हाम्रा शब्दहरू पीडा मात्र होइनन्, आत्मासँगै जोडिएका कथा हुन्।
मेरो आमा–बुवा गाउँका किसान हुन्।
बिहान घाम नउदाउँदै उठ्ने, खेत बारीमा काम गर्न जाने, बेलुका अबेर भएपछि मात्र फर्किने। आकाशले छेक्न नसक्ने उनीहरूको पसिना नै हाम्रो भाग्य थियो। जब भुईँचालोले हाम्रो घर भत्कायो, बुवाले मलिन हाँसो गर्दै भने, ‘गरेपछि फेरि उठ्छ, बाबु!’ त्यो शब्दले मलाई सधैँ हिम्मत दियो।
हाम्रो गाउँको भूगोल नै कठोर छ। एक घण्टा उकालो लागेपछि मात्र स्कुल पुगिन्छ। बिरामी हुँदा अस्पताल टाढा छ। बर्खामा खोलाले बाटो कटाउँछ, हिउँदमा चिसोले मान्छे गलाउँछ। तर यही पहाडहरूले हामीलाई बलियो बनाएको छ। यिनै भिरहरू चढ्दै हामीले जिन्दगी बाँच्न सिकेका छौँ।
विद्यालय जीवन सम्झँदा आज पनि मुटु चसक्क हुन्छ। घाँस काट्दै, दाउरा खोज्दै, सोतर पात बटुल्दै स्कुल जानु हाम्रो दैनिकी थियो। हामीले सहरिया सुख–शान्तिमया जिन्दगी बिताउने सौभाग्य पाएनौँ। अहिले पनि सम्झन्छु, गाईबस्तु चराउन गएकाले गृहकार्य पूरा गर्न नपाएका ती स्कुले दिनहरू।
उस्तै सम्झन्छु, गर्मी याममा चर्को घाम, तातो हावा, जाडो याममा न्यानो लुगाहरू बिना, वर्षा याममा झरी बर्सातको पर्बाह नगरी घन्टौँ लाग्ने त्यो स्कुलको बाटो झोलामा रोटी बोकेर पढ्न गएका दिनहरू। हामी त्यो समय विद्यार्थीसँगै गोठालो पनि थियौँ जसले बिहान गाई लिएर जाने, बेलुकी घर फर्कने अनि त्यो थकान बोकेर किताब पल्टाउँथ्यौँ।
हाम्रो बाल्यकाल संघर्षको उपहार थियो। कहिलेकाहीँ घरको आर्थिक अवस्था नाजुक हुँदा, आमाले दिएको रोटी बिस्कुट सरह लाग्थ्यो। कति दिन चप्पल चुँडिँदा पनि डोरीले बाँधेर हिँड्यौँ। तर मनमा एकै थरी जिद्दी थियो— केही गरेर देखाउने।
सहरमा बसेर हाम्रो भूगोल र हाम्रो दुखलाई दयाको दृष्टिले हेर्नेहरूलाई थाहा छैन, यही संघर्षले हामीलाई मजबुत बनाएको छ। हाम्रा पाइतालाहरू जहाँ उभिएका भए पनि हाम्रो लागि त्यही माटो हाम्रो पहिचान हो। जाजरकोट दुर्गम होला तर यहाँका मान्छेहरूको हिम्मत शिर उठाएर आँधीमा उभिएको पहाड जत्तिकै विशाल छ।
हामीलाई थाहा छ, हाम्रो गाउँको नाम उच्चारण गर्दा कतिपयको ओठ कसेर हाँसो आउँछ। उनीहरूलाई लाग्छ, हामी अभावमा मात्रै हुर्किएका छौँ। तर उनीहरूलाई के थाहा ? हामीले त त्यही अभावको चाखलाग्दो मिठास भित्रै आफ्ना सपना रोपेका थियौँ। भोकले होइन, आत्मीयताको अभावले पोल्थ्यो हामीलाई। हामीलाई जिन्दगीप्रति गुनासो छैन। किनभने हाम्रो जिन्दगीले चाकरी होइन, संघर्ष गरेर अघि बढ्न सिकाएको छ।
सहरले हामीलाई सायद देखेको छैन, बिहान उज्यालो नफुट्दै गाग्री बोकेर खोलातिर हिँडेको दिदीको थकाइ। उसले देखेको छैन, रातको झुलसमा टुकीको मन्द उज्यालोमा अक्षर कोर्दै निदाएका साना आँखाहरू। तर हामीलाई थाहा छ— त्यो अँध्यारोको महत्त्व के हो।
आज म सहरको भीडमा छु।
मान्छेहरू लाखौँ संख्यामा छन्। तर ती अनुहारहरूमा त्यो आत्मीयता छैन जुन हाम्रो गाउँमा हुन्थ्यो— जहाँ छिमेकीको पीडा आफ्नै पीडा लाग्थ्यो। जहाँ चिया नपिउँदै मनका कुराहरू पोखिन्थे। सहरमा त जति अग्ला घरहरू छन्, त्यति नै गहिरा एकान्तहरू छन्।
यहाँ न त त्यो पँधेरो छ जहाँ एउटी आमाले छोरीको मन पढ्थिन्, न त्यो साँझको चौतारो जहाँ बाबुहरू थकित शरीर लिएर पनि छोराको सपना बुझ्थेँ।
यहाँ त झरी पर्नासाथ मानिस दौडन्छन् तर हाम्रो गाउँमा झरीसँगै सास फेर्ने माटो सुगन्धित हुन्थ्यो। त्यो माटोको गन्ध आज पनि मेरो मुटुमा बाँचिरहेछ— सायद त्यसैले आज पनि सहरको सिसा छुँदा मन भत्किन्छ, माटो छुँदा बनाउँछ।
हिजो जसले मलाई हेप्थे— ‘दुर्गम’ भनेर, ‘गाउँले’ भनेर— आज तिनैले मलाई सोध्छन्, ‘तपाईं यति दृढ र संवेदनशील कसरी बन्नुभयो?’
म मुस्कुराउँछु। म उनीहरूलाई बुझाउन सक्दिनँ, धूलोभित्र लुकेका ती संघर्षहरू, ती अधुरा सपना, ती भिजेका रहरहरू। ती नै हुन्, जसले मलाई बलियो बनाउँदै अगाडि बढाएका छन्।
म जान्दछु मेरो शक्ति त्यो माटो हो, जसले मलाई खस्न पनि दियो, उठ्न पनि सिकायो।
हामी जन्मेको माटोलाई लाजको होइन, गर्वको विषय ठान्छौँ। किनभने त्यो माटो नै हो जहाँ म मेरै रगत मिसाएर बढेको छु। जहाँ एउटा आमाको चुल्होमा पाकेको भातको गन्ध आज पनि मनमा सल्किरहेछ। जहाँ एउटा बाबुको पाखुरामा घामले पोलेको आदर्श आज पनि काँधमा बोकेर हिँडिरहेछु।
गाउँ आज पनि उस्तै छ— शान्त, सरल र सजग। सहरले हामीलाई जे दिए पनि त्यो गाउँले दिएको आत्मा कहिल्यै साट्न सकिँदैन। त्यसैले त म बारम्बार भन्छु— गाउँले हुनु लाज हैन, त्यो त मेरो चिनारी हो। त्यो माटो हो जहाँ म केवल जन्मिएको छैन, जहाँ म साँच्चै बाँच्न सिकेको छु।
कसैले भन्दिए—हामी पछि परेका छौँ। तर हामीले कहिल्यै हार मानेका छैनौँ। हामी ती मान्छे हौँ जसले सुक्खा भित्तामा पनि सपना लेख्छौँ, जसले आँसु लुकाएर पनि हाँसो बाँड्छौँ, जसले जन्मे हुर्केको माटो सम्झिँदा गर्व गर्छौँ, घृणा होइन।
लेखक :रेशमबहादुर खड्का पत्रकार महासंघ जाजरकोटका सचिव हुन ।