२८ भाद्र २०८२, शनिबार

जाजरकोटमा दुई घटना : ट्याक्टर दुर्घटना र करेन्ट लागेर दुई जनाको मृत्यु

सरोज वली

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१० आलि स्थित छिन्चु–जाजरकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सोमबार बिहान करिब ७:४५ बजे फेराबजारबाट छेडा बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००२ त ०६०७ नम्बरको ट्याक्टर सडकबाट करिब १०० मिटर तल भेरी नदीको किनारमा खसेको हो।

दुर्घटनामा परेर भेरी नगरपालिका ९ का १९ वर्षीय चालक धन बहादुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी हरिराम डाँगीले जानकारी दिनुभयो ।

ट्याक्टरमा सवार भेरी नगरपालिका ७ निवासी १५ वर्षीय विरेन्द्र परियार घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

त्यसैगरि, जाजरकोटको नलगाड नगरपालिका–४ गाडेखोलामा विद्युतको तार मर्मत गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमबार बिहान करिब १०:३० बजे नलगाड नगरपालिका ७ चामाखेत बस्ने २२ वर्षीय शिशिर चन्द पोलमा चढेर तार मर्मत गरिरहेका बेला करेन्ट लागेर पोलमै झुण्डिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ।

उनको शवको उद्वार गरि पोष्टमार्टमका लागि नगर अस्पताल दल्लीमा ल्याइएको प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनु भयो ।

शिशिर चन्द ज्यालादारीमा कार्यरत मजदुर रहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

३० असार २०८२, सोमबार १३:३९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्