१५ बैशाख २०८१, शनिबार

औषधि किन्दा ध्यान दिनैपर्ने कुरा

कर्णाली अपडेट

बिरामी हुँदा हामी औषधि किन्न फार्मेसी पुग्छौं । चिकित्सकको प्रेस्क्रिप्सन भए सोही अनुसार, नभए आफूलाई आवश्यक परेको औषधि फटाफट किनेर ल्याउने अधिकांशको बानी हुन्छ । तर यसरी औषधि किन्दा धेरै कुरामा हाम्रो ध्यान पुगिरहेको हुँदैन ।

त्यसैले औषिध खरिद गर्दा यी ६ कुरामा विशेष ध्यान दिनुपर्छ ।

चिकित्सकको प्रेस्किप्सन अनुसार औषधि खरिद गर्ने

जहिले पनि चिकित्सकलाई जाँच गराएर प्रेस्क्रिप्सनअनुसार मात्र औषधि खरिद गर्नुपर्छ । आफूखुसी औषधि किनेर खानुहुँदैन । यस्तै आधिकारिक रुपमा दर्ता प्रमाणपत्र भएको फार्मेसीबाट मात्रै औषधि किन्नुपर्छ ।

औषधि किन्दा प्रेस्किप्सनमा लेखिएको औषधि नभएर त्यस्तै काम गर्ने तर अर्को कम्पनीको औषधि फार्मेसीले दिन खोजे खरिद गर्नु हुँदैन । त्यस्तो औषधिले शरीरमा सकारात्मक असरको सत्ता नकारात्मक असर गर्न सक्छ । त्यसैले त्यस्तो औषधि खरिद गर्नुहुँदैन । किनकि औषधिको कम्पनी फरक हुने बित्तिकै त्यसले गर्ने काम पनि फरक हुन्छ । त्यसैले प्रेस्किप्सनमा लेखेकै औषधि किन्नुपर्छ ।

औषधिको पूरा जानकारी लिने

औषधि किन्दा त्यसबारे विक्रेता वा चिकित्सकबाट पूर्ण जानकारी लिनुपर्छ । जस्तै दिनमा ट्याबलेट भए कतिवटा झोल भए कति बिर्को खाने खाने ? कति पटक खाने ? खाना खाइसकेपछि खाने कि खाली पेटमा ? कुन औषधि पछि कुन खाने ? सम्पूर्ण जानकारी लिनुपर्छ ।

उक्त औषधिले कुनै साइड-इफेक्ट हुन्छ कि हुँदैन ? भएमा के गर्ने ? यी सबै जानकारी विस्तृत रुपमा लिनुपर्छ ।

महंगो र सस्तोको पछि नलाग्ने

औषधि कम्पनी अनुसार मूल्य र त्यसले काम गर्ने क्षमता, क्वालिटी फरक-फरक हुन्छ । तर धेरैलाई यो कुरा थाहा नहुँदा सस्तोको पछि लागेर चिकित्सकले दिएको प्रेस्क्रिप्सनअनुसारको औषधि छुट्न सक्छ ।

म्याद गुज्रिने मिति हेर्ने

औषधि किन्दा छुटाउनै नहुने कुरा हो एक्स्पाइरी डेट अर्थात् म्याद गुज्रिने मिति । अधिकांशले औषधि किन्ने बेलामा यसको खासै वास्ता गरेको देखिंदैन । तर औषधि लिनुअघि औषधिको खोल वा बट्टामा वरिपरि वा तलमाथि हुने मिति हेर्नुपर्छ । किनभने यदि एक्स्पाइरी डेट सकेको औषधिले रोग निको हुनुको सट्टा अझ बल्झिन सक्छ ।

बिल माग्ने

औषधि किनिसकेपछि कुन औषधि कहिले र कहाँबाट खरिद गरेको भन्ने थाहा पाउन वा प्रमाण स्वरुपको लागि बिल लिनुपर्छ । यदि केही गरी औषधि छुट वा ठीक औषधि हो कि होइन भनेर जाँच गर्न सकिन्छ । औषधि खरिद गर्दा बिल अनिवार्य रुपमा लिने बानी बसाल्नुपर्छ ।

औषधिको दोहोरो जाँच गर्ने

औषधि लिनुअघि प्रेस्किप्सन अनुसार औषधि छ कि छैन ? वा हो कि होइन भनेर हेर्नुपर्छ । जस्तै औषधिको नाम, औषधिको डोज, एक्स्पाइरी डेट, प्रयोग गर्ने विधि, उत्पादकको नाम र ठेगाना हेर्नुपर्छ ।

(कन्सल्ट्यान्ट फिजिसियन डा. गैरे काठमाडौंस्थित वीर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

२८ असार २०८०, बिहीबार १५:५६ मा प्रकाशित
Nabintech