१५ बैशाख २०८१, शनिबार

जुनीचाँदेका पूर्वअध्यक्ष केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर

दुई वर्ष कैद सजाय र आठ लाख रुपैयाँ जरिवाना

कर्णाली अपडेट

जाजरकोट । जुनीचाँदे गाउँपालिकाका पूर्वअध्यक्ष कृष्णबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सोमबार विशेष अदालत काठमाण्डौले गाउँपालिका पूर्वअध्यक्ष केसीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । दुई वर्ष कैद सजाय र आठ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो ।

विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले भने, ‘उहाँ सम्बन्धित दुईवटा मुद्दा विचाराधीन थिए । जसमध्ये एउटामा सफाइ र अर्कोमा दोषी ठहर हुनुभएको छ । दुई वर्ष कैद सजाय र आठ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो,’ केसी घुस मागेर भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएका हुन् ।
केसीले सोही गाउँपालिकाको वडा नं. ५ मा विभिन्न उपभोक्ता समिति मार्फत भएका कामको अन्तिम भुक्तानीका लागि घुस मागेका थिए । उनी र स्थानीय विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतले आपसमा मिलेमतो गरी घुस मागेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो । केसी र बस्नेतले घुस मागिरहेको सूचना अख्तियारमा आएपछि टोली खटाइएको थियो । उनीहरूलाई अख्तियारको सुर्खेतस्थित कार्यालयको टोलीले आठ लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । उनीहरू घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । जसपछि २२ फागुन २०७६ मा दुवैजनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको हो ।

विशेषका उपरजिस्ट्रार कार्कीका अनुसार प्रधानाध्यापक बस्नेतलाई विशेषले सफाइ दिएको छ भने केसीलाई कैद र जरिवाना दुवै हुने सजाय सुनाइएको छ । न्यायाधीसहरु शालिग्राम कोइराला, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । गाउँपालिका पूर्वअध्यक्ष केसीसहित वडाध्यक्ष राजबहादुर शाहीले घुस रकम दिन बाध्य बनाएको अर्को एक मुद्दामा भने विशेषले सफाइ दिएको छ । सडक निर्माण कार्यमा सेवाग्राहीसँग पटक–पटक गरी २५ लाख ५० हजार रूपैयाँ घुस मागेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
अनुसन्धानपछि कमिसन तथा घुस भन्दै नगदै रकम लिई बैंक खातामा जम्मा गरेको, होटेल तथा रिजर्भ गाडीको भाडा तिर्न लगाएको जस्ता दाबीसहित अख्तियारले मुद्दा दायर गरेको जनाईएको छ ।

२३ आश्विन २०८०, मंगलवार १२:५३ मा प्रकाशित
Nabintech