१५ बैशाख २०८१, शनिबार

भारतमा बाढीपीडित महिलाले हानिन् सांसदलाई थप्पड (भिडियोसहित)

कर्णाली अपडेट

हरियाणाको कैथल जिल्लाकी एक बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए)का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् ।

सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौ ?’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी हुन् । पानीको सुमचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन् ।

उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिला र अरू स्थानीयले ‘तिमी अहिले किन आयौ ?’ भनेको सुनिन्छ । सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीले उद्धार गरेका थिए ।

घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए ।

हरियाणामा अविरल वर्षापछि आएको बाढीका कारण १० जनाको ज्यान गएको छ । मुख्यमन्त्री मनोहर लाल खट्टरले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताएका छन् ।

मुख्यमन्त्रीले बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिने घोषणा पनि गरेका छन् ।

विगत चार दिनदेखि हरियाणामा मात्र नभई हिमाचल प्रदेश, उत्तराखण्ड र पञ्जाबमा लगातारको वर्षाले केही जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ । हालसम्म ९१ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।

हिमाचलको सिप्तीमा अलपत्र परेका ३०० पर्यटकको उद्धारको प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर अवतरण गर्न कठिनाइ भएको छ । रासस/एएनआई

२८ असार २०८०, बिहीबार १५:३१ मा प्रकाशित
Nabintech