१५ बैशाख २०८१, शनिबार

वैदेशिक रोजगारीले युवाविहीन बन्दै गाउँघर, आपत् पर्दा कोही भेटिन्नन्

रासस

वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बन्दै गइरहेका छन् । युवा वर्ग शिक्षा तथा वैदेशिक रोजगारीका लागि बिदेसिने क्रम बढ्दै जाँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिक मात्रै देखिन थालेका छन् ।

नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको ग्रामीण क्षेत्रबाट प्रतिपरिवार कम्तीमा एक जना वैदेशिक रोजगारमा गएका स्थानीयवासी बताउँछन् । मध्यविन्दु–३ का अगुवा गुणराज पौडेलले स्थानीय युवा १८ वर्ष पुगेपछि राहदानी बनाएर विदेश जाने तयारीमा लाग्ने गरेका बताउनुभयो ।

‘यहाँका युवाहरू १८ वर्ष पुग्ने बित्तिकै वैदेशिक रोजगारमा जानका लागि पासपोर्ट बनाउँछन्’ उहाँले भन्नुभयो ‘सक्ने १२ पास गरेपछि अध्ययनका लागि भन्दै विदेश जान्छन्, नसक्नेहरू पासपोर्ट बनाएर मलेसिया, कतारलगायत खाडी देशतिर जाने गरेका छन् ।’

कुनै आकस्मिक काम परेर युवा खोज्दा गाउँमा युवा भेटाउनै मुस्किल हुने गरेको पौडेलले गुनासो गर्नुभयो ।

‘नगरपालिकाभित्र पर्ने भए पनि पिछडिएको क्षेत्र भएकाले यहाँबाट कमाउनका लागि विदेश जाने युवा धेरै छन्’ उहाँले भन्नुभयो ‘वैदेशिक रोजगारमा जाने क्रम रोकिएन भने गाउँमा मलामी जाने युवाको समेत अभाव हुने सम्भावना देखिएको छ ।’

वैदेशिक रोजगारमा नगएका युवा पनि अध्ययन तथा अवसरको खोजीमा जिल्ला बाहिरका सहरमा जाने गरेकाले गाउँमा युवाहरू भेटाउनै मुस्किल हुने गरेको पौडेलले बताउनुभयो ।

स्थानीय ६० वर्षीय फणीन्द्रदेवी उपाध्यायका दुई छोरामध्ये दुवै वैदेशिक रोजगारमा हुनुहुन्छ ।

‘एउटा छोरा साउदीमा छ, अर्को थाइल्याण्डतिर व्यवसाय गरेर बसेको छ’ उहाँले भन्नुभयो, ‘स्वदेश फर्किएर केही गर् भन्दा नेपालमा केही गर्ने वातावरण नै छैन भनेर फर्किएका छैनन् ।’ अहिले आफूसहित घरमा एउटी बुहारी र साना नातिनातिना मात्रै बस्ने गरेको उहाँले बताउनुभयो ।

‘बूढेसकालको साहारा बन्लान् भनेर छोराछोरी पाल्यो, हुर्कायो, बढायो तर उनीहरु घर बाहिरै गएर रमाउने भए’ उपाध्यायले भन्नुभयो ‘दुई तीन वर्षमा आउँछन्, आउने बित्तिकै जान हतार हुन्छ, गइहाल्छन् ।’ उहाँका अनुसार गाउँबाट एउटै परिवारका तीन–चार जनासम्म युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।

गाउँबाट रोजगारीका लागि भारतमा जाने युवाको सङ्ख्या कति छ भनेर कुनै तथ्याङ्क नै नभएको स्थानीय बताउँछन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार यस नगरपालिकाबाट सात हजार भन्दा बढी मानिसहरू वैदेशिक रोजगारका लागि गएका छन् ।

मध्यविन्दु नगरपालिकामा १५ हजार चार ३० परिवार रहेकामा सात हजार ६ सय ३९ जना मानिस वैदेशिक रोजगारमा गएका तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार पनि औसतमा प्रति दुई परिवारमा एक जना वैदेशिक रोजगारमा जाने गरेको देखिएको छ । वैदेशिक रोजगारमा जाने मानिसमध्ये १५ वर्षदेखि २४ वर्ष उमेर समूहका मानिस धेरै देखिएका छन् ।

यस उमेर समूहका तीन हजार पाँच सय ९८ युवा रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । युवा उमेर मानिने १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका छ हजार नौ सय ९७ जना युवा मध्यविन्दु नगरपालिकाबाट वैदेशिक रोजगारमा गएका विभागले जनाएको छ ।

युवाहरू विदेश पलायन हुँदा देशको चौतर्फी विकासमा असर पर्ने मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

‘अहिले देश नवनिर्माणको अभियानमा छ, यस बेला देशमा दक्ष र प्राविधिक जनशक्तिको खाँचो छ’ उहाँले भन्नुभयो, ‘तर प्रतिभा पलायनले गर्दा दक्ष जनशक्तिको अभाव छ, देश निर्माणको महाअभियानमा युवालाई विकासको साझेदार बनाउनुपर्छ ।’

युवाको ज्ञान, सीप, सृजनशीलता र ऊर्जा राष्ट्र निर्माणमा लगाउन सके मात्र विकास सम्भव भएको नगरप्रमुख अधिकारीले बताउनुभयो । हरेक वर्ष ठुलो सङ्ख्यामा युवा शक्ति वैदेशिक रोजगारीमा जानु दुःखद भएको उहाँको भनाइ थियो ।

२७ असार २०८०, बुधबार १८:२३ मा प्रकाशित
Nabintech