१५ बैशाख २०८१, शनिबार

अन्डर सिक्सटिन महिला साफ च्याम्पियनसिप : नेपालको पहिलो जित, भुटान ३-० ले पराजित

कर्णाली अपडेट

काठमाडौं । अन्डर सिक्सटिन महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले भुटानलाई तीन-शून्यले हराएको हो ।

खेलको १४औं मिनेटमै नेपालले अग्रता बनाएको थियो । बाप्तिका कार्कीको पासमा पेनाल्टी बक्सभित्र अनमार्क रहेकी पूजा गिरीले गोलकिपरलाई छक्याउँदै गोल गरिन् । नेपालले १८औं मिनेटमै अग्रता दोब्बर बनायो ।

भुटानी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई कप्तान भूमिका बुढाथोकीले पोस्टको बाटो देखाएकी थिइन् । त्यसपछि नेपालले खेलमा दबाब बनाएको हो । पहिलो हाफमै नेपालले तेस्रो गोल पनि गर्यो । बाप्तिकामाथि फउल गरेपछि नेपालले पेनाल्टी बक्सनजिकै फ्रिकिकको अवसर पाएको थियो । डिफेन्डर ग्यान्सु डोल्माको फ्रिकिक सिधै पोस्टमा पुगेको थियो ।

भुटानी गोलकिपर केल्झङा वाङ्मोले समाएको बल पनि बचाउन नसक्दा बल पोस्टभित्र पुगेको हो । यससँगै नेपाल पहिलो हाफमै तीन-शून्यले अघि थियो । दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् । यससँगै नेपालले साफमा सहज तीन अंक जोडेको हो ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग दुई-शून्यले पराजित भएको थियो । साफको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले अब फागुन २४ गते भारतको सामना गर्नेछ । फाइनल पुग्नका लागि भारतविरुद्धको खेलमा जित्नैपर्ने दबाब नेपाललाई हुनेछ । लगातार दोस्रो हारसँगै भुटान भने समूह चरणबाटै बाहिरिएको छ । साफमा भोलि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

२१ फाल्गुन २०८०, सोमबार १८:१८ मा प्रकाशित
Nabintech