१५ बैशाख २०८१, शनिबार

छेडागाड नगरपालिकाको आयोजनामा बजार अनुगमन

कर्णाली अपडेट

जाजरकोट । छेडागाड नगरपालिकाको मुख्य व्यापारिक केन्द्र थलह बजारको अनुगमन गरिएको छ । छेडागाड नगरपालिकाको आयोजना र इलाका प्रशासन कार्यालय चङ्खिलाको समन्वयमा बजार अनुगमन गरिएको छेडागाड नगरपालिकाका उद्योग तथा उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रमेश अधिकारीले जानकारी दिए ।

अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन, अधिकांशले मुल्यसुची नराखेको र केही मात्रामा म्याद सकिएका अखाद्य वस्तु गैर कानुनी रुपमा विक्री वितरण गर्दै आएको भेटिएको छ ।

सोही क्रममा ११ लिटर अवैध घरेलु मदिरा लगायतका केही अखाद्य बस्तु समेत फेला पारेर नष्ट गरिएको उनले अधिकारीले बताए । छेडागाड नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काका अनुसार थलह बजारका विभिन्न किराना पसल, मदिरा पसल हार्डवयर, औषधी पसल, कपडा पसल तथा होटेलहरुमा अनुगमन गरिएको हो ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको नगर प्रमुख खड्काले बताए । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको समेत उनले बताए ।

छेडागाड नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काको बिशेष उपस्थितिमा बजार अनुमगन गरिएको हो । अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसाय दर्ता, नविकरण, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकायले बताए ।

सबै व्यवसायीहरुलाई ७ दिन भित्र नगरपालिकामा आएर व्यवसाय दर्ता गराउनको लागि निवेदन दिन जानकारी दिएको समेत उनले बताए । सबै व्यापारीहरुलाई दर्ता नवीकरणका लागि सुझाव र जानकारी दिएको र दोस्रो पटक पनि अटेर गरेको पाइएमा कानुन बमोजिम कारवाही अगाडि बढाउने जानकारी समेत गराईएको उनले बताए ।

उक्त अनुगमनमा बजार व्यवस्थापन समिति,सुरक्षाकर्मी र अन्य स्थानीय सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।

४ चैत्र २०८०, आईतवार १७:३८ मा प्रकाशित
Nabintech