१५ बैशाख २०८१, शनिबार

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पुनः छेडागाड नगरपालिकालाई

कर्णाली अपडेट

तस्बिर : नरेन्द्रराज घर्ती

जाजरकोट । जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पुनः छेडागाड नगरपालिकाले जितेको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाले यसपटकको शिल्ड पनि उचालेको हो ।

छेडागाड नगरपालिका वडा नंं. १२ स्थित नारायणी माविको खेल मैदानमा सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० स्वर्ण, १० रजत र ११ कास्य गरि जम्मा ३१ पदक सहित छेडागाड नगरपालिका प्रथम भएको हो ।

प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य सहित शिवालय गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ भने ८ स्वर्ण २ रजत र ६ कास्य सहित भेरी नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ ।नलगाड नगरपालिकाले १ स्वर्ण, ५ रजत र ६ कास्य जितेको छ भने बारेकोट गाउँपालिकाले १ स्वर्ण, ६ रजत र २ कास्य जितेको छ । त्यसैगरी कुशे गाउँपालिकाले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ ।

जिल्लाका ७ वटा पालिकामध्य ६ वटा पालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए । बजेट अभाव रहेको भन्दै जुनिचादे गाउँपालिकाले भने प्रतियोगितामा सहभागी जनाएन । प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा अन्तरपालिका बिच प्रतिस्पर्धा गराइएको थियो ।

जिल्ला स्तरीय प्रतियोगितामा पालिकाबाट छनौट कक्षा ८ देखि १२ सम्मका १८ वर्षमुनिका ३ सय ५० बढि विद्यार्थी खेलाडीहरुको सहभागिता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेत (एनबी) ले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार जिल्ला स्तरमा उत्कृष्ट खेल प्रतिभा प्रस्तुत गर्ने खेलाडीहरुलाई विधा अनुसार प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुनेछन ।

गत माघ २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गरेका थिए । विभिन्न ५४ वटा विद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

२९ माघ २०८०, सोमबार १८:५० मा प्रकाशित
Nabintech